प्रतिनिधि सभा बैठक आज पनि बस्ने

तु खबर संवाददाता
२०८१ असार ६,बुधबार ०९:२७

काठमाडौं । संघीय संसद् अन्तरगत प्रतिनिधि सभा बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने गरी आह्वान गरिएको हो ।

सो बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । बैठकमा सांसदहरू पुष्पबहादुर शाह, अमरेशकुमार सिंह, प्रेम सुवाल र ध्रुवबहादुर प्रधानले विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न शीर्षकहरूमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको जनाइएको छ ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय; वन तथा वातावरण मन्त्रालय; शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय; श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय; सहरी विकास मन्त्रालय; रक्षा मन्त्रालय; खानेपानी मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमामाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने संसद् सचिवालयले जनाएको छ ।