राष्ट्रपति पौडेल आज जेनेभा प्रस्थान गर्दै

तु खबर संवाददाता
२०८१ जेष्ठ २९,मंगलवार ०८:४५
file-photo

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज साँझ स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्ने भएका छन् ।

अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्)को उद्घाटन मञ्चमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

उनले जेठ ३१ गते सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले जेठ ३० गते स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय वार्ता गर्नेछन् ।

भ्रमणपछि राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट जर्मनीको बर्लिन प्रस्थान गर्नेछन् । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कने कार्यसूची रहेको छ ।