कांग्रेस हेटौंडा–१७ को क्रियाशील भेला तथा प्रशिक्षण

तु खबर संवाददाता
२०८१ जेष्ठ २६, शनिबार १५:५७

मकवानपुर । नेपाली कांग्रेस हेटौंडा–१७ ले गैरीगाउँमा क्रियाशील भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

कांग्रेस हेटौंड–१७ का सभापति नवराज न्यौपानेको सभाध्यक्षता एवम् कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा शनिबार भेला तथा प्रशिक्षण कार्यक्रम गरिएको हो ।

कांग्रेस बागमती प्रदेश सभापति बानियाँले संघीय, प्रदेश र स्थानीय सरकारले स्थानीय तहमा गरेका विकास निर्माणका बारेमा समुदायसँग छलफल गरी स्थानीय समस्याको पहिचान एवम् समाधानका लागि पार्टीको तर्फबाट पहल गर्दा जनतामा पार्टीप्रतिको विश्वास बढ्दै जाने र लोकतान्त्रिक पद्धतिको विकासमा समेत टेवा पुग्ने बताए ।

सभापति बानियाँले कांग्रेस नेपाली राजनीतिमा लामो र निरन्तर संघर्ष गरेको पार्टी भएकाले पार्टीको नीति र नियममा रहेर आफ्नो टोल समाजमा राजनीतिमार्फत सामाजिक कार्य गर्ने तथा पार्टी संगठनलाई क्रियाशिल तथा चलायमान गर्न सक्नेलाई मात्रै क्रियाशिल सदस्यता दिन आग्रह गरे ।

नेता बानियाँले विकासका कार्यमा स्थानीय समस्या समाधानको लागि स्थानीय सरकारले गर्न नसकेका कार्यमा पालिका प्रमुखहरुसंग समन्वय गरेर प्रदेश र संघीय सरकारबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गर्दै क्रियाशिल सदस्य र अगुवा कार्यकर्ताको जिज्ञासा र पार्टीको आगामी रणनीतिबारे प्रकाश पारे ।

प्रशिक्षण कार्यक्रममा प्रशिक्षकद्वय ललितपुर जिल्ला सचिव बशिष्ठ अधिकारी र महासमिति सदस्य एवम् प्राध्यापक प्रमोदहरि गुरागाँईले कांग्रेसको विगत, वर्तमान र भावी रणनीतिका बारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, पूर्व सभापति रघुरमण न्यौपाने, संघीय सभापति दामोदर खनाल, प्रदेश क्षेत्रीय सभापति शुसान्त श्रेष्ठ, हेटौंडा उपमहानगर सभापति उत्सव ईटेनी, क्रियाशिल सदस्य अर्जुन देवकोटा, नवप्रवेशी दामोदर दाहाललगायतले मन्तव्य व्यक्त राखेका थिए ।