हेटौंडामा कांग्रेसको कार्यकर्ता प्रशिक्षण कार्यक्रम

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाली कांग्रेस मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ को कार्यकर्ता प्रशिक्षण कार्यक्रम गरिएको छ ।
शनिबार प्रशिक्षण विभागको आयोजनामा कार्यकर्ता प्रशिक्षण, भाषण कला र बैठक सञ्चालन प्रणाली कार्यक्रमको आयोजना गरिएको हो ।
प्रशिक्षण कार्यक्रमको उद्घाटन कांग्रेस प्रतिनिधि सभा क्षेत्र नम्बर १ (ख) मकवानपुरका सभापति राजेश बानियाँको अध्यक्षता एवम् कांग्रेस बागमती प्रदेश सभापति तथा बागमती प्रदेश सभा सदस्य इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको हो ।
सो क्रममा बोल्दै प्रमुख अतिथि बानियाँले कांग्रेसकै कारण मुलुकमा शान्ति स्थापना र संविधान जारी भएको जिकिर गरे । कांग्रेसले पहलकदमी लिएकै कारण तत्कालिन माओवादीको १० वर्षे जनयुद्ध अन्त्य भएको उनको भनाई छ ।
व्यवस्था परिवर्तन भएपनि अवस्था परिवर्तन भएन भन्ने भाष्य स्थापित हुँदै गएको बताउँदै उनले व्यवस्थाप्रति जनतामा रहेको निराशालाई आशामा बदल्न कांग्रेसले पहलकदमी लिनुपर्ने बताए । सभापति बानिंयाले विधि र विधानमा चल्ने एक मात्र पार्टी नेपाली कांग्रेस भएको भन्दै उनले कांग्रेसका नेताहरुको विचार र व्यवहार एउटै हुनुपर्ने उल्लेख गरे ।
कार्यक्रममा डा. कृष्ण प्रसाद खनाल र पार्टीका केन्द्रीय सदस्य पुष्पा भुसालले प्रशिक्षण दिएका छन् । उनीहरुले पार्टीको वर्तमान राजनैतिक अवस्थाको बारेमा प्रशिक्षण दिएका हुन् ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा प्रशिक्षण विभाग प्रशिक्षक पुष्पा भुसाल विशिष्ट आतिथ्यता तथा नेपाली कांग्रेस जिल्ला सभापति बुद्ध लामा, पूर्व सभापति रामचन्द्र अर्याल, रघुरमण न्यौपाने, उप–सचिव इन्दिरा न्यौपाने, मकवानपुर गढी गाउँपालिका प्रमुख दोर्जे लामा, प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल, पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।