प्रतिनिधि सभा बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको हो ।
बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने सम्भावित कार्यसूची संसद् सचिवालयले जनाएको छ ।
उक्त कार्यसूची यथावत रहे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसपछि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुनेछ । प्रतिनिधि सभामा जम्मा दुई वटा संशोधनको सूचना दर्ता भएको छ ।
नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले नीति तथा कार्यक्रममाथि छुट्टाछुट्टै संशोधनको सूचना दिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम जेठ १ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेका थिए ।
