गृहमन्त्रीको सम्बोधनबारे छलफल गर्न कांग्रेस संसदीय दलको बैठक बस्दै

तु खबर संवाददाता
२०८१ जेष्ठ ७,सोमबार ०९:१६

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । सोमबार बिहान संघीय संसद् भवनमा बस्ने गरी दलको बैठक बोलाइएको हो ।

सहकारीको बचत रकम अपचलनको विषयमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति गठनको माग गर्दै आएको कांग्रेसले संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा धारणा बनाउन बैठक बोलाएको हो ।

कांग्रेसले करिब एक महिनादेखि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै आएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले आफूले सहकारीको रकम दुरुपयोग नगरेको दाबी गरेका थिए ।

कांग्रेसको आजको बैठकमा गृहमन्त्रीको सम्बोधनमाथि समेत छलफल हुने जनाइएको छ ।