चार समितिको सभापतिमा मनोनयन दर्ता, एउटामा निर्वाचन

मकवानपुर । बागमती प्रदेश सभा अन्तरगत रहेको विचिन्न चार वटा समितिको सभापति पदको लागि आज मनोनयन दर्ता भएको छ ।
प्रदेश सभा अन्तरगत रहेको पाँच वटा समितिमध्ये चार वटाको सभापति पदको लागि मनोनयन दर्ता भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार, नेपाली कांग्रेसको तर्फबाट सार्वजनिक लेखा समितिको सभापति पदमा श्रीराम लामिछाने र प्रदेश मामिला समितिमा छिरिङ दोर्जे लामाले मनोनयन पत्र दर्ता गराएका छन् ।
यस्तै, नेकपा माओवादी केन्द्रको तर्फबाट कृषि, शिक्षा, स्वास्थ्य समितिको सभापति पदमा ठाकुर प्रदास ढकालले मनोनयन पत्र दर्ता गराएका छन् ।
यसैगरी, राप्रपाको तर्फबाट अर्थ तथा विकास समितिको सभापति पदमा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा नुर बज्राचार्य र आशा लामा रहेका छन् ।
उक्त समितिमा दुई जनाको उम्मेदवारी दर्ता भएकोले भोलि अपराह्नमा निर्वाचन हुने प्रदेश सभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।
उनका अनुसार, नेकपा एमालेको तर्फमा परेको उद्योग, पर्यटन तथा वातावरण समितिको सभापति पदमा भने कुनै पनि उम्मेदवारी दर्ता भएको छनै ।
उक्त पदका लागि भोलि नै टुंगो लाग्ने जनाइएको छ ।