बजेट अधिवेशन बोलाउने सरकारको तयारी

तु खबर संवाददाता
२०८१ बैशाख १९, बुधबार १७:२०

काठमाडौं । सरकारले संघीय संसद्को बजेट अधिवेशन बोलाउने तयारी गरेको छ ।

सरकारले यही वैशाख २५ गते आगामी बजेट अधिवेशन बोलाउने तयारी गरेको कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले जानकारी दिए ।

मन्त्री गिरीले आगामी अधिवेशनमा समितिमा छलफलका क्रममा रहेका विधेयकहरूलाई छिट्टै टुंग्याएर संसदमा लैजाने तयारी भइरहेको बताए ।

त्यस्तै, संविधान र संघीयतालाई कार्यान्वयन गर्ने सवालमा थुप्रै ऐनहरू संशोधन गर्नु आवश्यक रहेको भन्दै ऐन संशोधन गर्नेगरी अगाडि बढिने पनि उनको भनाई छ ।

मन्त्री गिरीले संसदलाई सहज ढंगले चलाउनका लागि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग छलफल भइरहेको र सकारात्मक कुरा भएको उल्लेख गरे ।