उपनिर्वाचनको आचारसंहिता लागू

काठमाडौं । आगामी वैशाख १५, २०८१ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता लागू भएको छ ।
इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा क्षेत्र नम्वर १ मा हुने उपनिर्वाचनका लागि आचारसंहिता लागू भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
आयोगका प्रवक्ता पौडेलका अनुसार, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त बनाउन आजदेखि आचारसंहिता लागू भएको हो ।
निर्वाचन आचारसंहिता मतदान सम्पन्न नहुन्जेलसम्म लागू हुनेछ । सो अवधिमा कुनै सार्वजनिक स्रोत, साधन र सम्पत्ति दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रयोग गर्न पाइने छैन, सरकारी वा सार्वजनिक संस्था वा शैक्षिक संस्था प्रयोग गरेर निर्वाचनसम्बन्धी भेला वा प्रचार गर्न पनि पाइने छैन ।
यस्तै, प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले कुनै दलको पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् । यो व्यवस्था अनुसार अहिले पदमा रहेका व्यक्तिहरु आफू उम्मेद्वार भएको अवस्था बाहेक अन्यत्र प्रचारप्रसार गर्न जान नपाउने जनाइएको छ ।
मतदान आगामी वैशाख १५ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको छ ।
इलाम–२ मा १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र गरी जम्मा २० जना तथा बझाङ–१ (१) मा १२ राजनीतिक दलबाट १२ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । ती सबै उम्मेदवारहरुलाई मंगलबार निर्वाचन चिह्न वितरण गरिएको थियो ।