संघीय संसद्का दुवै सदनको बैठक बस्ने
काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्ने भएको छ । जसअनुसार प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्ने गरी बोलाइएको छ ।
बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भवित कार्यसूची रहेको जनाइएको छ ।
त्यस्तै, कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको राष्ट्रियसभामा उत्पत्ति भएको खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ छलफल र पारितका लागि प्रस्ताव गर्ने कार्यसूची संसद् सचिवालयले जनाएको छ ।
यता राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे बस्ने गरी आह्वान गरिएको छ । बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, विषयगत समिति र संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्ने सम्भावित कार्यसूची छ ।
संसद् सचिवालयका अनुसार, आजको बैठकमा अध्यक्षले राष्ट्रियसभाको उपाध्यक्ष पदको निर्वाचनको लागि दिन तोक्ने कार्यसूची रहेको छ भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७९–८० सभा समक्ष पेस गर्नेछन् ।
