गुल्मीमा सवारी साधनको भाडा घट्यो
गुल्मी । जिल्लाका केही सडकहरुमा चल्ने सवारी साधनको भाडा घटेको छ । जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा बसेको बैठकले भाडादर घटाउने निर्णय गरेको हो ।
सडकहरुको अवस्था सुधार भए पनि भाडा महंगो लिने गरेको गुनासो आएपछि यातायात व्यवसायीहरुको समेत सहमतीमा भाडा समायोजन गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए ।
समायोजन गरिएको भाडा दर अनुसार बसहरुले रिडी–खैरेनीको भाडा १२० र रिडी–मजुवाको भाडा ३ सय रुपैयाँ लिन पाउने छन् । यही रुटमा चल्ने जिपहरुले भने बसको भन्दा १० रुपैयाँ बढी भाडा लिन पाउने छन् ।
तम्घास–धुर्कोट (बर्बोट) साविकको भाडादरमा २० रुपैयाँ घटाउने प्रशासनले निर्णय गरेको छ । तोकिएको भाडा दरअनुसार सवारी साधानहरु सञ्चालन गर्न प्रशासनले यातायात व्यवसायीलाई आग्रह गरेको छ ।
