वनदेवी मन्दिरमा प्राण प्रतिष्ठा कार्यक्रम
हेटौैंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ नागस्वतीमा नवनिर्मित वनदेवी मन्दिरमा प्राण प्रतिष्ठा कार्यक्रम सम्पन्न भएको छ । गत माघ १२ गतेदेखि ताप्लेजुङ पाथिभरा मन्दिरका मुख्य पुजारीबाट शुभारम्भ भएको प्राण प्रतिष्ठा कार्यक्रम पाथिभरा मन्दिरका मुख्य पुजारीबाटनै पुर्णाहुती साथै जल प्रसाद वितरण गरेर समापन भएको हो ।
७ नम्वर वडा कार्यालय नजिकै रहेको मन्दिर करिब १ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको हो । स्थानीय दलबहादुर खड्काले हालसम्म सम्पूर्ण लागत व्यहोर्दै आएका छन् ।
कलात्मक शैलीमा निर्माण गरिएको उक्त मन्दिर अवलोकनका लागि दैनिक धार्मिक पर्यटकहरुको संख्या बढ्दै गएको र अझै व्यवस्थित रुपमा सञ्चालन गर्नको लागि अक्षयकोष समेत स्थापना गरिने जनाइएको छ ।
अक्षयकोष सञ्चालन सहयोगार्थ ताप्लेजुङ पाथिभरा मन्दिरका मुख्य पुजारीबाट रु ५१ हजार १ सय ५५ रुपैंया दान गरी शुभारम्भ भएको छ । नागस्वतीमा नवनिर्मित सो मन्दिरले धार्मिक पर्यटन बढ्ने विश्वास लिइएको छ । माघ २७ गते काठमाडौँ ईन्द्रेणी कार्यक्रम समूहको प्रस्तुतीसहित मन्दिरको उद्घाटन गरिने बनदेबी मन्दिर प्राण प्रतिष्ठा कार्यक्रमका संयोजक हरिहर ढकालले जानकारी दिए ।
