लटरम्भेश्वरमा खानेपानी र विजुली विस्तार
हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ८ स्थित लटरम्भेश्वर महादेवको मन्दिरमा भीमफेदी गाउँपालिकाले खानेपानी तथा विजुली विस्तार गरेको छ । गाउँपालिकाका अध्यक्ष हिदम लामाले मन्दिर परिसरमा नै पुगेर खानेपानीको धारा तथा विजुली बत्तिको उद्घाटन गरेका छन् ।
दैनिक सयौँ धार्मिक पर्यटकहरुको आवागमन हुने सो मन्दिरमा यसअघि पानी र विजुलीको अनुबिधा रहेको थियो । खानेपानी तथा विजुली विस्तार भएसँगै धार्मिक पर्यटक तथा स्थानीयबासीहरु हर्षित भएका छन् ।
‘भीमफेदी गाँउपालिकाको एउटा ड्रिम प्रोजेक्ट सफल भएको छ । लाखौँ धार्मिक पर्यटकहरुको आस्थाको केन्द्रको रुपमा स्थापित चर्चित लटरम्भेश्वर महादेव मन्दिर क्षेत्रमा विजुली र डबल लिफ्टीङ माध्यम द्वारा पिउने खानेपानी पुर्याउन सफल भएका छौँ ।’ अध्यक्ष लामाले भने ।
यो कार्य धार्मिक एवम् पर्यटकीय दृष्टिकोणबाट अत्यन्तै महत्वपूर्ण भएको उनले बताए । मन्दिरमा मकवानपुर, काठमाडांै, ललितपुर, भक्तपुर लगायत विभिन्न जिल्लाका पर्यटकहरु आउने गरेका छन् ।
मन्दिरमा नयाँ वर्ष अर्थात् बैशाख १ गते र माघ १ गते मेला लाग्ने गरेको छ । मेला हेर्न मकवानपुरको हेटौंडा, बारा, काठमाडौं, ललितपुर र भक्तपुर लगायत अन्य ठाउँबाट पनि दर्शनार्थीहरू आउने गरेका छन् ।
लटरम्भेश्वर मन्दिरसम्म काठमाडौंबाट टिकाभैरव छपेलि बगुवा महादेवटार हुँदै आउन सकिन्छ भने मकवानपुरको हेटौंडाबाट कान्तिराजपथको बाटो ठिङ्गन हुँदै पनि महादेवटार बाट जान सकिन्छ ।
