तीन दिने आत्मरक्षा तालिम सुरु
हेटौंडा । बागमती प्रदेश युवा परिषदको आयोजनामा तीन दिने आवासीय महिला आत्मरक्षा प्रशिक्षक प्रशिक्षण पुनर्ताजगी तालिम बागमती प्रदेशको राजधानी हेटौंडामा सुरु भएको छ ।
तालिममा हिंसाका प्रकार, आत्मरक्षाको महत्व, आत्म जागरण र हिंसा न्यूनीकरण गर्न कानूनी प्रावधान लगायतका विषयमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिनेछ । प्रदेश भित्रका २६ विद्यालयका २६ जना शिक्षक सहभागी यस कार्यक्रममा किशोरी बालिका र महिला घरपरिवार, विद्यालय र कार्यक्षेत्रमा असुरक्षित भएको रिर्पोटको आधारमा सुरक्षित बनाउनका लागि आत्मरक्षा विषयक तालिम संचालन गरिँदै आएको छ ।
पुस १३ देखि १५ गते सम्म हुने तालिम कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रदेश सभा सदस्य एवम् पूर्व श्रम, यातायात तथा रोजगारमन्त्री एकलाल श्रेष्ठले हरेक क्षेत्रमा हुने सबैखाले हिंसाको प्रतिकार प्रतिरक्षाको लागि मानसिक एव शारीरिक हिसाबले तयार रहनका लागि तालिम महत्वपूर्ण हुने र बिद्यालयको कोर्सको रुपमा विकास गर्न आवश्यक पहल गर्ने बताए ।
बागमती प्रदेश युवा परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंले अघिल्लो वर्ष प्रदेश भित्रका १३ जिल्लामा सञ्चालित यस कार्यक्रम महत्वपूर्ण र प्रभावकारी परिणाम प्राप्त हँुदा आत्मरक्षा तालिमलाई निरन्तरता दिँइदै आएको र तालिमपछि कम्तिमा विद्यालय र स्थानीय तहमा २० हजार बढीलाई तालिम दिन सक्षम प्रशिक्षक तयार हुने बताए । सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख खुबीराम अधिकारीले मन्त्रालयले तालिमको उपलब्धि राम्रो भएकोले कार्यक्रमलाई निरन्तरता दिँदै आएको र थप कार्यक्रमको लागि आवश्यक बजेट बिनियोजन गर्ने बताए ।
तालिमका प्रशिक्षक दिपेन्द्र रोक्काले सबै उमेर समूहका सबैलाई तालिम आवश्यक रहेको र शिक्ने र शिकाउने प्रक्रिया निरन्तर चल्ने भएकाले सिक्ने र सिकाउने कलाको विकास गर्न जरुरी रहेको बताए । गैरसरकारी संस्था महासंघ जिल्ला अध्यक्ष रमिला सापकोटा महिला हिंसाको विरुद्ध महिलालाई तालिम दिई कार्य क्षेत्रमा पठाउँदा थप प्रभावकारी हुने भएकाले प्रदेश युवा परिषदलाई धन्यवाद दिए ।
कार्यक्रममा नेपाल सेल्फडिफेन्स एसोसिएसनका वरिष्ठ प्रशिक्षक सन्जु महर्जन र प्रशिक्षक बिनिता गुरुङ, मेनका श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
