गोलन्जोर गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास
सिन्धुली । गोलन्जोर गाउँपालिकाले आफ्नो सुविधासम्पन्न प्रशासकीय भवन निर्माण सुरु गरेको छ । गोलन्जोर गाउँपालिका ३ ग्वाल्टारमा आफ्नै करिब ४ रोपनी क्षेत्रफल जमिनमा निर्माण गरिने भवनको आइतबार एक कार्यक्रमका बीच पालिका अध्यक्ष शंकरराज बरालले शिलान्यास गरे ।
सिन्धुलीका ९ स्थानीयतह मध्ये ८ स्थानीय तहले आफ्नै सुविधा सम्पन्न प्रशासनिक भवनको निर्णाण गरि सेवा प्रवाह सुरुवात गरिसकेका छन्। तर गोल्जोर गाउँपालिकाले आफ्नै भवन समेत बनाउन सकेको थिएन।गाउँपालिले सुरुवातदेखि नै घर भाडामा लिएर सेवा दिँदै आएको थियो ।
पालिकाका अनुसार पार्किङ सहितको ४ तले ३८ कोठाको भवन ६ करोड ११ लाख ११ हजार २ सय ५७ रुपैंया लागतमा निर्माण हुँदैछ ।
सो भवन आगामी २४ महिना ९दुईबर्ष० भित्रमा निर्माण सम्पन्न गर्ने गरी पाइनस कन्ट्रक्सन प्रा।लि।काठमाण्डौसंग गत भदौ १२ गते ठेक्का सम्झौता गरिएको गाउँपालिकाका इन्जिनियर सुशिल काफ्लेले बताए ।
भवन शिलान्यास गर्दै अध्यक्ष बरालले भवन निर्माणपछि गाउँपालिकाका सबै शाखा एउटै भवनमा रहने र प्रदान गरिने सेवासमेत प्रभावकारी हुने बताए ।
उनले भने, हाल गाउँपालिकाको भवन साँघुरो भएकोले एउटै कोठाबाट २ भन्दा बढी शाखा सञ्चालन हुँदै आएको कारण नागरिकहरुले सहजै सेवा पाउन सकेका छैनन् भने सास्तीपूर्ण रुपमा सेवा सञ्चालन भइरहेको छ।भवन साँघुरो भएकाले सेवा प्रवाहमासमेत सकस भएको छ । तर, प्रशासकीय भवन निर्माण भएसँगै सो समस्याको समाधान हुन्छ ।
उनले निर्धारित समयमै गुणस्तरीय रुपमा निर्माण सम्पन्न गर्न सबैको भूमिका उत्तिकै रहेने जिकिर गरे। साथै सहयोगको लागि आग्रहसमेत गरे।
प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद दाहालले पनि प्रशासकीय भवन निर्माणका लागि सबैको सहयोग र साथ आवश्यक रहेको उल्लेख गरे ।
