सर्वोच्चद्वारा सरकारको निर्णय बदर गर्दै भारतीको पक्षमा फैसला

तु खबर संवाददाता
२०८० कार्तिक १६,बिहीबार १६:२९

काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) को कैद मिनाहा गर्ने सरकारको निर्णय बदर गर्दै भारती शेर्पाको पक्षमा फैसला सुनाएको छ ।

नेपालगञ्जका चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगललाई मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले आममाफी दिएपनि त्यसलाई बदर गर्दै सर्वोच्चले भारतीको पक्षमा फैसला सुनाएको हो ।

न्यायाधीशहरु क्रमशः ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले रिगललाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा रिगललाई आममाफी दिएका थिए । तर, रिगलले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारतीले सरकारको निर्णय खारेज हुनुपर्ने माग राख्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएकी थिइन् ।