पाकिस्तानद्वारा भारतमाथि प्रत्याक्रमण सुरु, दिल्लीसहित भारतका १० शहरमा निशाना

काठमाडौं । तीन दिनअघिदेखि भारतले सुरु गरेको अप्रेशन सिन्दुरका विरुद्धमा पाकिस्तानले आजदेखि औपचारिक रुपमा प्रत्याक्रमण सुरु गरेको छ । पाकिस्तानी सेनाले भारतविरुद्धमा बुनयान उल मार्सोस सुरुवात गरेको छ । आज पाकिस्तानले भारतको राजधानी नयाँ दिल्लीसहित १० स्थानमा आक्रमण गरिएको पाकिस्तानी सञ्चार माध्यमले जनाएको छ । यद्यपि नयाँ दिल्लीस्थित सैनिक निशानामा गरिएको आक्रमण मिसाइल डिफेन्स सिष्टमले रोक्न सफल भएको जनाइएको छ ।
भारतविरुद्धको पहिलो सैन्य कारवाहीमा पाकिस्तानले आज विहानै करिब पाँच बजेतिर नयाँदिल्ली नजिकै रहेको सैनिक अड्डामा फतह–१ मिसाइलद्वारा आक्रमण गरेको छ । भारतीय विदेश मन्त्रालयले आज विहान ५ः४५ बजेको लागि राखिएको पत्रकार सम्मेलन स्थगित गरिएको छ । भारतीय विदेश मन्त्रालयका अनुसार पाकिस्तानी मिसाइलका कारण बंकरमा जानु परेकोले पत्रकार सम्मेलन स्थगित गरिएको हो ।
पाकिस्तानले भारतको चण्डीगढमा रहेको इन्धन डिपोमा पनि आक्रमण गरेको दावी गरेको छ । अमृतसरमा रहेको एयरबेसमा पनि फतह मिसाइलमार्फत नै आक्रमण गरेको छ । श्रीनगरमा रहेको एयरबेस, राजस्थानमा रहेको सैनिक अड्डा, गुजरातमा रहेको एयरबेस, जालान्दरमा रहेको एयरबेस, पठानकोट एयरफिल्ड, उद्यमपुरमा रहेको एयर डिफेन्स सिष्टममा आक्रमण गरेको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् ।
भारतीय सञ्चार माध्यमहरुले पाकिस्तानबाट हिजो एकै दिन कम्तीमा चार वटा ड्रोनले देशका विभिन्न २६ स्थानमा टार्गेट बनाएको जनाएको छ । साथै भारतको अमृतसरमा रहेको ब्रम्हास मिसाइलको डिपोमा आक्रमण गरेको जनाइएको छ । त्यसैगरी, साईबर आक्रमण गरी विभिन्न स्थानमा विद्युतीय प्रशारण लाइन अबरुद्ध गरिएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् ।
भारतले तीन दिन पहिले ७ मे मा पाकिस्तानविरुद्धमा अप्रेशन सिन्दुर सुरुवात गरेको थियो । यसै महिनाको सुरुवातमा कास्मिरमा गरिएको आतंकवादी हमलाका विरुद्धमा भारतले पाकिस्तानमाथि अप्रेशन सिन्दुर चलाएको थियो । तीन दिनसम्म रक्षात्मक रहेर प्रतिरक्षा गरिरहेको पाकिस्तानले आजदेखि जवाफी हमला सुरु गरेको हो ।
सञ्चार माध्यमहरुका अनुसार भारतको राजधानी नयाँदिल्लीलाई समेत मिसाइलले निशाना बनाएपछि थुप्रै मानिसहरु बंकरमा गएको बुझिएको छ । अन्तर्राष्ट्रिय जगतले तीव्र चासोका बीचमा अन्ततः भारत र पाकिस्तान फुलफेज युद्धतर्फ अघि बढिरहेका छन् ।