बागमती प्रदेश खेलकुद : रग्बीको उपाधि भक्तपुर र मकवानपुरलाई

तु खबर संवाददाता
२०८० जेष्ठ १३,शनिबार १३:५४

मकवानपुर । दोश्रो बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बीको उपाधि भक्तपुर र मकवानपुरले हात पारेको छ । हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा शनिबार भएका फाइनल प्रतियोगिताको पुरुषतर्फ भक्तपुर र महिलातर्फ मकवानपुरले उपाधि हात पारेको हो ।

पुरुषतर्फको फाइनलमा भक्तपुरले मकवानपुरलाई ३१–५ स्कोरले पराजित गर्यो । भक्तपुरका सुरज रानाले २ तथा प्रवेश पनेरु, रमेश बानियाँ र नरेन्द्रप्रसाद जोशीले १ ट्राइ गरे । १ ट्राइबाट ५ अंक प्राप्त हुन्छ । भक्तपुरका निरोज कार्कीले ३ कन्भर्सनबाट ६ स्कोर बटुले । १ कन्भर्सन वापत २ अंक दिइन्छ । मकवानपुरका अनिश तामाङले १ ट्राइ गरे ।

यस्तै, महिलातर्फको फाइनलमा मकवानपुरले ललिपतुरलाई १७–१० स्कोरले हरायो । विजयी टिमका लागि पुष्पा खड्काले २ तथा मनिषा घिसिङले १ ट्राइ गरे । मकवानपुरकी ज्योतिका बम्जनले १ कन्भर्सन गरिन् । ललितपुरका कमला राई र प्रेक्षा वाग्लेले समान १–१ ट्राइ गरे ।

मकवानपुरको महिला टोलीले उपाधि निश्चित गरेपछि मैदानमा खुशीयाली मनाईँ राख्दा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामा मैदानमै पुगेर टोलीलाई बधाइ दिएकी थिइन् ।

दुई दिने प्रतियोगिताको पुरुषमा ८ तथा महिलामा ५ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । बागमती प्रदेश खेलकुदमा रग्बी पहिलोपटक समावेश गरिएको हो ।

विभिन्न १३ खेल समावेश बागमती प्रदेश खेलकुदअन्तर्गत अब पुरुष फुटबलको फाइनल मात्र बाँकी छ । फुटबल फाइनल शनिबारै अपरान्ह ४ः०० बजे पिप्ले क्याम्पा रंगशालामा हुनेछ ।