बागमती प्रदेश सभा बैठक : विनियोजित विधेयकको प्रतिवेदन प्रस्तुत
मकवानपुर । बागमती प्रदेश सभाको आज बसेको दोस्रो कार्यकालको १२ औं बैठकमा विनियोजन विधेयक २०८० को सिद्दान्त र प्राथमिकताको सम्बन्धमा प्रतिवेदन प्रस्तुत भएको छ ।
बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामा तामाङ्ले प्रदेश सरकारको तर्फबाट प्रस्तुत हुने उक्त विधेयक प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
उक्त प्रतिवेदनमा सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि प्रदेशभित्र गुणस्तरीय स्वास्थ्य सेवाको प्रवाह साथै शिक्षालाई दक्ष उत्पादनमुलक बनाउने र रोजगारीलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्दै लैजाने उद्देश्य रहेको उनले जानकारी दिए ।
उनले प्रदेशका विपन्न नागरिकहरुलाई आर्थिक आयआर्जनतर्फ कृषि उद्यमी र उत्पादनको लागि प्याकेज कार्यक्रम सञ्चालन गर्ने र साना उद्यमीहरुलाई उद्योग सञ्चालनको लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराउनेतर्फ जोड दिए ।
साथै प्रदेशमा बाढीपहिरोबाट प्रभावित नागरिकहरुलाई तत्काल उद्धार गरी राहत वितरण गर्ने कार्यलाई प्रदेश सरकारले सम्बन्धित जिल्ला प्रशासनमार्फत् समन्वय गरेर उद्दार कार्यलाई तीव्रता दिने नीति तर्जूमा गरेको स्पष्ट पारे ।
उक्त बैठकमा उनले विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकताको सन्दर्भमा दफावार छलफल गरियोस् भनी प्रस्ताव टेबुल गरे । उक्त विधेयकमाथि भोलि पूर्ण बैठकमा दफावार छलफल हुने प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
