सरकारको नीति तथा कार्यक्रममाथि २३ वटा संशोधन प्रस्ताव दर्ता

तु खबर संवाददाता
२०८० जेष्ठ ७, आईतवार १६:४१
file-photo

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि संघीय संसदको दुबै सदनमा गरी २३ वटा संशोधनको प्रस्ताव दर्ता भएको छ । संसदको प्रतिनिधि सभामा २० र राष्ट्रिय सभामा ३ वटा संशोधन प्रस्ताव दर्ता भएको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

उनका अनुसार नीति तथा कार्यक्रमका विभिन्न बुँदामा संशोधन प्रस्तावसहितको सूचना दर्ता भएको छ । नीति तथा कार्यक्रममा सत्तारुढ दल नेपाली कांग्रेसबाट सांसद श्यामकुमार घिमिरे र दिलेन्द्रप्रसाद बडुले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

यस्तै, प्रमुख विपक्षी नेकपा एमालेबाट एकनाथ ढकाल, बासुदेव घिमिरे, सूर्यबहादुर थापा क्षेत्री, नारायणप्रसाद आचार्य, जुलीकुमारी महतो (महासेठ), भगवती चौधरी, ज्वालाकुमारी साह, दयालबहादुर शाही, दामोदर पौडेल वैरागी, महेशकुमार बर्तौला र सूर्यप्रसाद ढकालले संशोधन प्रस्ताव दर्ता गरेका छन ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट चन्दा कार्की भण्डारी, सोबिता गौतम र सुमना श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीबाट सांसद प्रेम सुवाल, नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीबाट रामप्रकाश चौधरीले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले राष्ट्रिय सभामा ३ वटा संशोधन प्रस्ताव दर्ता भएको जानकारी दिए । राष्ट्रिय सभामा राष्ट्रिय सभा सदस्य बिमला राई पौडेल, बिमला घिमिरे र तुलसा कुमारी दाहालले संशोधन प्रस्ताव दर्ता गरेका हुन् ।

जेठ ५ गते संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि संघीय संसदमा छलफल सुरु भएको छ ।