उपराष्ट्रपतिमा अष्टलक्ष्मीले जित्ने सम्भावना छ : अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपतिमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले जित्ने सम्भावना रहेको बताएका छन् । मंगलबार शाक्यलाई जिताउन आयोजित प्रशिक्षण कार्यक्रमलाई बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले १० दलको गठबन्धनले महिलाको अधिकार खोस्न निर्वाचन आयोगलाई प्रयोग नै गरिसकेको बताए । अध्यक्ष ओलीले नेकपा एमाले मुलुकमा सबल राष्ट्रिय शक्ति निर्माण गर्न लागे पनि विरोधीहरू त्यसलाई असफल पार्न लागिरहेको आरोप लगाए ।
‘हामी एउटा सबल राष्ट्रिय शक्ति निर्माण गर्न चाहान्छौँ, अरू थरीहरू सबल राष्ट्रिय शक्ति निर्माणको प्रयासमा गम्भीर बाधा व्यवधान पुर्याउन र त्यसलाई असफल पार्न चाहन्छन् । अहिलेको राष्ट्रिय राजनीतिको चुरो त्यति हो । सबल राष्ट्रिय शक्ति निर्माण हुन नदिनेका पछाडि को होला ?’, ओलीले प्रश्न गर्दै कुन प्रवृत्तिले काम गरेको छ भन्ने कुरा सहजै अनुमान गर्न सकिने बताए ।
उपराष्ट्रपति निर्वाचन आगामी चैत्र ३ गते हुँदैछ । त्यसका लागि चार जनाको उम्मेदवारी परेको छ ।
