राष्ट्रपतिमा पौडेललाई भोट माग्दै देउवाद्वारा ओलीलाई पत्र
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पत्र पठाएर राष्ट्रपति उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट मागेका छन् ।
सभापति देउवाले आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा पौडेललाई भोट गर्न एमालेका अध्यक्ष ओलीलाई पत्र पठाएका हुन् । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार अपराह्न ओली निवास बालकोट पुगेर देउवाको पत्र बुझाएका हुन् ।
राष्ट्रपति निर्वाचनका लागि गत शनिबार राष्ट्रपतिमा कांग्रेससहित ८ दलको समर्थनमा पौडेलले उम्मेदवारी दर्ता गरेका थिए भने एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दर्ता गरेका थिए ।
उम्मेदवारी फिर्ता लिने पूर्वसन्ध्यामा कांग्रेस सभापति देउवाले एमाले अध्यक्ष ओलीलाई पत्र पठाएका हुन् । राष्ट्रपतिमा समर्थन वा मित्रवत प्रतिस्पर्धाका लागि भन्दै देउवाले ओलीलाई पत्र पठाएका छन् ।
