कांग्रेस बागमती कार्य सम्पादन समितिको बैठक बस्दै
मकवानपुर । नेपाली कांग्रेस बागमती कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । संसदीय दलको नेता चयनको विषयमा छलफल गर्न आज दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको कांग्रेस बागमती प्रदेश समितिका प्रवक्ता तिलक रुवालीले जानकारी दिए ।
उनका अनुसार, सानेपा स्थिती प्रदेश समितिको सम्पर्क कार्यालयमा बस्ने उक्त बैठकले प्रदेशको संसदीय दलको नेता चयनको प्रक्रियाको विषयमा निर्णय गर्नेछ ।
बैठकको निर्णय अनुसार संसदीय दलको नेता चयनको प्रक्रियाले तीव्रता पाउने उनको भनाई छ । बागमती प्रदेशसभामा निर्वाचित ३७ जना सदस्यहरुको उपस्थितिमा दलको नेता चयन गर्ने उनले बताए ।
कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा दुई जनाको दावी रहेको छ । दलको नेता बन्न कांग्रेसको संस्थापन पक्षका २ सांसद प्रयासरत रहेका छन् । जसमा इन्द्रबहादुर बानियाँ र बहादुर सिंह लामा रहेका छन् । बानियाँले यसअघि २०७४ मा कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको जिम्मेवारी पाइसकेका छन् ।