निर्वाचन आयोगद्वारा थापा पक्षलाई आधिकारिकता
निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिँदै गगन थापा नेतृत्वको पदाधिकारी तथा सदस्यहरुको विवरण अध्यावधिक गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानुन र विधान सम्मत ठहर गरेको हो ।
थापाको नेतृत्वको कांग्रेसलाई आधिकारिक मान्यता दिने निर्णय गरेसंगै अब आयोगले थापा नेतृत्वको समितिको नामावली अध्यावधिक गर्नेछ ।
सभापति शेर बहादुर देउवा पक्षधरहरुको सबै दावी यो निर्णयसंगै खारेज भएको छ भने पुरानो नेतृत्वको नामावली आयोगको अभिलेखबाट हटाइनेछ ।
देउवा पक्षका नेता प्रकाशशरण महतले आयोगको निर्णय मान्न नसकिने प्रतिक्रिया दिएका छन् । आयोगले निर्णय गर्दा पार्टी विधानको पूर्णतः नजरअन्दाज गरेको नेता महतले बताएका छन् ।
शेर बहादुर देउवाले विशेष महाधिवेशन नगरेको भन्दै महामन्त्री रहेका गगन थापा र विश्व प्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका थिए । सो महाविधेशनबाट थापा सभापति र शर्मा उपाध्यक्ष चयन भएका थिए भने नयाँ कार्यसमिति निर्माण गरेका थिए ।
महाधिवेशनबाट निर्वाचित कार्यसमितिको नामावली अध्यावधिक गराउन उनीहरुले आयोगमा निवेदन दिएकोमा देउवा पक्षधरहरु पनि आयोग पुगेका थिए । उनीहरुले विशेष महाधिवेशन केन्द्रीय समितिले आह्वान गर्नुपर्ने लगायतका आधारहरुमा थापा नेतृत्वलाई आधिकारिकता नदिन माग गरेका थिए । तर, सो मागलाई निर्वाचन आयोगले सुनेन् र थापा नेतृत्वको कार्यसमितिको विवरण अध्यावधिक गर्ने निर्णय गरेको हो ।
आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा जान सकिने बाटो भने खुला रहेको छ ।
