उच्च अदालतमा २७ न्यायाधीश पदका लागि २७७ जनाको निवेदन
काठमाडौं । उच्च अदालतमा रिक्त २७ न्यायाधीशका लागि २७७ जनाको निवेदन परेको छ । संविधान अनुसार उच्च अदालतको न्यायाधीश पदका लागि योग्यता पुगेका जिल्ला न्यायाधीश, न्याय सेवाका कर्मचारी, कानुन व्यवसायी लगायतले आवेदन दिएका हुन् ।
नेपालको संविधानको धारा १४० मा उच्च अदालतको मुख्य न्यायाधीश तथा न्यायाधीशको नियुक्ति र योग्यता सम्बन्धी व्यवस्था गरिएको छ ।
न्याय परिषद्का अनुसार, आवेदन दिनेमा दुई जना विशिष्ट श्रेणी (सचिव सरह) का उम्मेदवार पनि छन् । २७ सिटका लागि सबैभन्दा धेरै कानुन व्यवसायीबाट १६१ जनाले निवेदन पेस गरेका छन् ।
यसैगरी, ७५ जना जिल्ला न्यायाधीश, १३ जना न्याय समूहका कर्मचारी, ९ जना सरकारी वकिल समूहका कर्मचारी, ८ जना कानुन समूहका कर्मचारी र अन्वेषक, अध्यापकबाट ११ गरी कुल २७७ जनाको आवेदन परेको जनाइएको छ ।
