रवि लामिछाने र छविलाल जोशीको धरौटी निवेदन पेसीमा
काठमाडौँ ।सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले बिगो बराबरको रकम धरौटी बुझाएर कारागार बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने मागसहित दिएको निवेदनमाथि आज उच्च अदालत बुटवलमा पेसी तोकिएको छ।
बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी तथा सङ्गठित अपराध अभियोगमा लामिछाने हाल नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमा रहेका छन्। यस मुद्दामा साप्ताहिक पेसी आज परेको हो। तर, यसअघि पटक-पटक स्थगित हुँदै आएकाले आजको पेसीमा सुनुवाइ हुने वा नहुने यकिन छैन।
यसअघि मंसिर २५ गते तोकिएको पेसी ‘हेर्न नमिल्ने परेपछि स्थगित भएको थियो भने मंसिर ११ गतेको पेसी लामिछाने पक्षका कानुन व्यवसायीको अनुरोधमा रोकिएको थियो। उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुवरका अनुसार मुद्दा गत हप्ता पनि हेर्न नमिल्नेमा परेको थियो। यसअघि रवि लामिछाने पक्षबाट दुई पटक र छविलाल जोशी पक्षबाट एक पटक पेसी स्थगित भइसकेको छ।
कानुनअनुसार एउटै मुद्दामा पक्ष र विपक्ष दुवैतर्फबाट अधिकतम दुई-दुई पटक मात्र पेसी स्थगित गर्न पाउने व्यवस्था छ। यस मुद्दामा भने सरकारी पक्षबाट अहिलेसम्म कुनै पनि पटक पेसी स्थगित भएको छैन। कात्तिक १३ गतेयता निरन्तर सातौं पटक यो मुद्दाको पेसी परेको हो।
लामिछानेले आफू सहकारीको शेयर सदस्य नभएको र ऋण लिने कुनै पनि प्रक्रियामा संलग्न नरहेको दाबी गर्दै सहकारी ठगीमा संलग्न नरहेको इन्कारी बयान दिँदै आएका छन्। उनले सहकारीमा भएको अपचलनको आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते धरौटीमा रिहा गर्न अस्वीकार गरेपछि उनी पुर्पक्षका लागि थुनामा परेका हुन्।
जिल्ला अदालतको आदेशविरुद्ध लामिछानेले गत भदौ ९ गते उच्च अदालत बुटवलमा निवेदन दर्ता गराएका थिए। सोही निवेदनमाथि आज पुनः सुनुवाइका लागि पेसी तोकिएको हो।
