बागी उम्मेदवारी फिर्ता लिन कांग्रेसको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज प्रेस विज्ञप्ति जारी गर्दै यदि फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निस्कासित हुने चेतावनी दिएको छ ।
कांग्रेसले पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएको भए आज शुक्रबार १० बजेदेखि ५ बजेभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्काशित हुने व्यहोरा जानकारी गराइन्छ’, जारी विज्ञप्तिमा उल्लेख छ ।

