बागमती प्रदेशका ६ जिल्लामा फैलियो बर्डफ्लु, कहाँ कति क्षति ?
मकवानपुर । बागमती प्रदेशका ६ जिल्लामा बर्डफ्लु रोगको संक्रमण फैलिएको कृषि तथा पशुपन्छी मन्त्रालयले जनाएको छ । हालसम्म काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर र सिन्धुपाल्चोक जिल्लामा बर्डफ्लु रोगको संक्रमण देखिएको हो । मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार बर्डफ्लुका कारण हालसम्म करिब ३ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।
प्रदेशमा माघ १६ गतेदेखि हालसम्ममा संक्रमण विभिन्न जिल्लामा फैलिरहेको छ । बर्डफ्लु रोग संक्रमण देखिएको स्थानहरुमा हालसम्म ५८ हजार २ सय ६१ पन्क्षी, २२ हजार ३४ वटा अण्डा र ११ हजार ४ सय ३९ के.जी दाना सुरक्षित तरिकाले नष्ट गरिएको मन्त्रालयले जनाएको छ । संक्रमण देखिएका स्थानमा पूर्ण रुपमा निसंक्रमणका कार्यहरु गरिएको र अन्यत्र फैलन नदिन नमूना संकलन र निगरानीका कार्यहरु भइरहेको समेत मन्त्रालयका सचिव पाण्डेले बताए ।
कुन जिल्लामा कति क्षति ?
वर्डफ्लुका कारण काठमाडौंमा १९ हजार ५०६ वटा पन्छी, ५ हजार ६५२ वटा अण्डा र ४ हजार १०८ किलो दाना नष्ट गरिएको छ । त्यस्तै चितवनमा ९ हजार ६७० पन्छी, २ हजार ३८६ वटा अण्डा, १ हजार ५०० किलो दाना, भक्तपुरमा २४ हजार ३१९ वटा पन्छी, १३ हजार ९० वटा अण्डा, २ हजार ९०० किलो दाना, मकवानपुरमा ३१६ वटा पन्छी, १६ वटा अण्डा, ८२ किलो दाना, ललितपुरमा २ हजार २६२ वटा पन्छी, ९०० किलो दाना र सिन्धुपाल्चोकमा २ हजार १८ वटा पन्छी, १ हजार ९५० किलो दाना नष्ट गरिएको छ ।
६ जिल्लामा बर्डफ्लु रोगको संक्रमणको कारण ५७ हजार ११४ वटा विभिन्न जातका कुखुरा नष्ट गरिएको कृषि तथा पशुपन्छी मन्त्रालयका सचिव पाण्डेले बताए । उनले क्षती व्यहोरेका कृषकहरुलाई संघीय र स्थानीय सरकारसँगको सहकार्यमा क्षतिपूर्ति दिने तयारी भइरहेको बताए । संघीय सरकारले तोकेको मापदण्ड र नीति अनुसार क्षति व्यहोरेका कृषकहरुलाई राहत स्वरुप क्षतिपूर्ति दिने सरकारको योजना रहेको उनको भनाई छ ।
मन्त्रालयले बर्डफ्लु रोगको समयमै निदान र नियन्त्रणको लागि विभिन्न पहलहरु गरिरहेको उनको भनाई छ । प्रदेशका अन्य जिल्लामा बर्डफ्लु रोग फैलन नदिन परिक्षणको दायरालाई फराकिलो बनाइएको उनले बताए । एक क्षेत्रबाट अर्को क्षेत्रमा संक्रमण फैलन नदिन नमूना संकलन, परिक्षण र निगरानी कार्यहरु बढाइएको उनको भनाई छ ।
संक्रमणको जोखिम बढ्न नदिन र रोगको नियन्त्रणको लागि प्रदेश सरकारले मातहतका निकायमा कार्यरत पशु चिकित्सक तथा कर्मचारीहरुलाई लामो बिदा नबस्न तथा जिल्ला नछाड्न पत्रचार गरेको छ । त्यस्तै सबै जिल्लाका भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्दबाट ¥यापिड टेस्ट किटबाट परिक्षणको व्यवस्था मिलाइएको छ । संक्रमित पन्छीहरुको ओसार प्रसारमा पनि कडाइएको गरिएको छ । त्यसका लागि प्रहरीको समन्वयमा पन्छीपालक व्यवसायीले पन्छी ढुवानीको लागि भेटेरिनरी स्वास्थ्य कार्डमा कडाई गर्ने र ¥यापिड टेष्ट रिपोर्ट अनिवार्य गर्ने सम्बन्धमा छलफल गरिरहेको मन्त्रालयका प्रवक्ता झलकनाथ कंडेलले जानकारी दिए ।
रोग नियन्त्रणका लागि आवश्यक जनशक्ति व्यवस्थापन गर्न कृषि तथा पशुपन्छी विज्ञान अध्ययन संस्थानहरुसंग छलफल जारी रहेको र संक्रमण भएकोे सूचना छिटो प्रवाह गर्नका लागि टोल–फ्रि नम्बरको व्यवस्थापनमा मन्त्रालय लागेको उनले बताए ।
रोगबाट बढी क्षती हुन नदिन तत्काल आपतकालिन योजना निर्माण गरी कार्यान्वयन गर्न मन्त्रालय अग्रसर रहेको तथा संघीय र स्थानीय सरकारसंगको समन्वयमा आपतकालिन रोग अन्वेषण एवम् संक्रमित पन्छी, पन्छीजन्य पदार्थ उत्पादन सामग्रीहरु नष्ट गर्ने काम भइरहेको उनको भनाई छ ।
