संवैधानिक पदाधिकारी नियुक्तीविरुद्ध मुद्दामा आजदेखि सुनुवाइ हुने

तु खबर संवाददाता
२०७८ चैत्र ९, बुधबार ०८:४७

काठमाडौं । अध्यादेशमार्फत संवैधानिक परिषद् सम्बन्धी प्रावधान संशोधन गरी विभिन्न संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्धको मुद्दामा आज सुनुवाइ हुने भएको छ । गत शुक्रबार अर्थात चैत्र ४ गते हेर्दाहेर्दैमा राखिएको उक्त मुद्दामा आज सुनुवाइ हुने भएको हो ।

संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड़का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा छन् । गत फागुन २७ गते रिटमाथि बहस गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले मुद्दामाथिको सुनुवाइ अघि बढाउन माग गरेका थिए ।

केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले गत वर्ष संवैधानिक परिषद् बैठकका केही प्रावधान परिवर्तन गर्नका लागि अध्यादेश ल्याइ तत्कालै विभिन्न संवैधानिक पदमा नियुक्ति गरेको थियो । अब संवैधानिक इजलासले यो मुद्दामा सुनुवाइ थालेको हो । सर्वोच्चले संवैधानिक इजलासको सुनुवाइ अवरुद्ध गर्ने आफ्नै एकल इजलासको अन्तरिम आदेशविरुद्ध परेको निवेदनमाथि समेत सुनुवाइ गर्नेछ ।