जिल्ला अदालत तनहुँमा पल शाहविरुद्ध बलात्कार मुद्धा दायर

तु खबर संवाददाता
२०७८ चैत्र ८, मंगलवार १४:३२
file-photo

काठमाडौँ । अभिनेता पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा बलात्कार मुद्धामा अभियोगपत्र दायर भएको छ । १६ वर्षीया किशोरीले दिएको किटानी जाहेरीको आधारमा सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र दायर गरेको हो । जिल्ला सरकारी वकिल कार्यालय तनहुँका प्रमुख जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै मुद्दा दायर गरेको हो । कानूनको उक्त दफामा महिलाको मन्जुरी नलिई करणी गरेमा बलात्कार हुने र १८ वर्षभन्दा कम उमेरकी महिलासँग मञ्जुरीमै करणी गरे पनि बलात्कार हुने उल्लेख छ ।

शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ । किशोरीले आफूमाथि पटक–पटक बलात्कार भएको भन्दै शाहविरुद्ध ११ फागुनमा जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी परेको थियो । १५ फागुनमा शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए ।