हेटौंडामा अन्तर्राष्ट्रिय पाई दिवस मनाइयो
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा सोमबार अन्तर्राष्ट्रिय गणित तथा पाई दिवस मनाइएको छ । भौतिक वैज्ञानिक अल्बर्ट आइन्सटाइनको जन्मदिनको अवसर पारेर गणित विषयमा विद्यार्थीको अभिरुचि जगाउने उद्देश्यले नारायणी कलेज तथा तुलसी मेहर माद्यमिक विद्यालयको आयोजनामा सो दिवस मनाइएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले नेपालमा यस प्रकारको दिवस औपचारिक रुपमा नमनाइएकोले यस दिवसको महत्वका बारेमा सबैलाई बुझाउन जरुरी रहेको बताइन् । उनले सामाजिक विकास मन्त्रालयले यस दिवसलाई सकारात्मक रुपमा लिएको उल्लेख गरिन् । शिक्षा क्षेत्रको विकासका लागि सामाजिक विकास मन्त्रालय आवश्यक सहयोग/सहकार्य गर्न सदैव तयार रहेकोसमेत उनले बताइन् । कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य रघुनाथ खरालले यस प्रकारको कार्यक्रम नेपालमा नै पहिलो पटक भएको दावी गरे । म्याथ फर क्रियटीभीटी भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरुले वृत्ताकार घेरा भित्र म्याथ फर क्रियटीभीटी लेखिएको आकार निर्माण गरी प्रदर्शन गरेका थिए ।

कार्यक्रममा बोल्दै विद्यालयका कार्यक्रम निर्देशक किसन बास्तोलाले यस प्रकारका कार्यक्रमले विद्यार्थीलाई गणित विषयमा आकर्षित गर्ने र मस्तिष्क विकसित गराउन सहयोग गर्ने भएकाले सोे कार्यक्रम भविष्यमा पुनः गरिने बताए । मस्तिष्कको उचित व्यायाम भएको खण्डमा विद्यार्थीको सिर्जनशीलता बढ्ने र मस्तिष्कको व्यायाम गणित विषयले गर्न सक्ने बास्तोलाले दावी गरे । विद्यालयको प्राङ्गणदेखि हेटौंडा–४ हुप्रचौरसम्म पाईको महत्व झल्काउने विभिन्न प्ले कार्ड सहितको पदयात्रा अन्तमा औपचारिक कार्यक्रममा परिणत भएको थियो ।
विद्यालयका प्रमुख कार्यकारी निर्देशक लक्ष्मण बस्नेतको सभाध्यक्षतामा भएकोे कार्यक्रममा कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेन्दबहादुर गुरुङ्गको विशेष अतिथ्यता तथा हेटौंडा उपमहानगर पालिका वडा नं ४ का वडा अध्यक्ष नवीन सिग्देल, वडा नं १० का वडा अध्यक्ष किताब सिंह लामा, विद्यालयका कार्यकारी प्रबन्धक दीपक काफ्ले, विद्यालयका मनोज यादव, सरिता तिवारी, सन्दिप न्यौपानेलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा करिब १ हजार ६ सयको संख्यामा विद्यार्थी तथा शिक्षकहरुको सहभागिता रहेको थियो । वैज्ञानिक आइन्सटाइनको जन्मदिन तथा स्टेफन हकिङको मृत्यु भएको दिनको सम्झनामा यो दिवस मार्च १४ तारिख दिउँसो १ बजेर ५९ मिनेटमा अन्तर्राष्ट्रिय रुपमा मनाइने गरिन्छ ।

