हेटौंडामा ‘पाथीभरा महोत्सव एवम् कोटीहोम महायज्ञ’ हुने

तु खबर संवाददाता
२०७८ फाल्गुन २४, मंगलवार १९:३७

मकवानपुर । हेटौंडा १ भैरवडाँडा स्थित धार्मिक पयर्टकीय स्थल पाथीभरा मन्दिरमा ‘पाथीभरा महोत्सव एवम् कोटिहोम महायज्ञ’ हुने भएको छ । यही फागुन २६ गते बिहिबार अष्टमी देखि पाथीभरा मन्दिरमा हुने कोटीहोम महायज्ञको तयारी अन्तिम अवस्थामा पुगेको पाथीभरा मन्दिर संरक्षण समितिले जनाएको छ । आज मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्दिरका संस्थापक पुजारी भरतप्रसाद लम्सालले शान्तिका लागि बिहिबारबाट बैशाख १ गतेसम्म एक महिना कोटिहोम गर्न लागिएको बताए । उनले मन्दिर स्थापना भएदेखिनै वर्षेनी कोटीहोम यज्ञ गर्दै आएको बताउँदै यस वर्ष भने बृहत रुपमा महायज्ञको तयारी गरिएको बताए ।

धार्मीक पर्यटकीय स्थलको रुपमा विकास हुँदै आएको पाथीभरामा हुने एक महिने कोटीहोममा हरेक दिन बिहान हवन, दिउँसो कथा वाचन र साँझमा पितृमोक्ष आरती तथा भजन किर्तन हुने आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै मन्दिर समितिका सचिव शालिकराम पुडासैनीले कोटीहोम महायज्ञ विशेष पूजाआजा गर्ने भक्तजनलाई समेटिएर आयोजना गर्न लागिएको बताए । उनले कोटीहोमका लागि कसैसँगै सहयोगको माग नगरिएको र महायज्ञमा स्वतः स्फुर्त सहयोग गर्न चाहनेलाई सहयोग गर्न दिइने समेत बताए ।

महायज्ञमा देशको विभिन्न मन्दिरहरुबाट २ दर्जन गुरुहरुलाई निमन्त्रणा गरिएको समितिले जनाएको छ । महायज्ञमा दैनिक सयौं श्रद्धालुभक्तजनले अवलोकन गर्ने अनुमान रहेको छ । कोटिहोमले शान्ति, मानव कल्यान, सुस्वास्थ्य तथा पितृ उद्धार हुने विश्वास रहेको छ । कोटिहोमले पृथ्वीमा बसोवास गर्ने सवै प्रकारका प्राणीहरुका लागि वातावरण स्वस्थ हुने पनि विश्वास रहेको छ ।