बकैयामा गाँजा र अफिम खेती, प्रहरीद्वारा फँडानी

तु खबर संवाददाता
२०७८ माघ ९, आईतवार ०८:३०

मकवानपुर । जिल्लाको बकैया गाउँपालिकामा पनि गाँजा र अफिम खेती हुँदै आएको छ । तस्करको उक्साहटमा यस क्षेत्रका किसानले पनि गाँजा र अफिम खेती गरिरहेका छन् । बकैया गाउँपालिका–६, गढवान र भोगटे क्षेत्रमा अफिम र गाँजा लगाइएको फेला परेपछि प्रहरीले फँडानी गरेको छ । यस क्षेत्रको २९ कठ्ठा क्षेत्रफलमा लगाइएको गाँजा र ४ कठ्ठा क्षेत्रफलमा लगाइएको अफिम खेती फँडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले जानकारी दिएका छन् ।

मकवानपुरको विकट राक्सिराङ र कैलाश गाउँपालिका क्षेत्रमा गाँजा फडानी गरेपछी प्रहरीको ध्यान बकैयामा बल्ल पुगेको छ । बकैया क्षेत्रमा अझैपनि गाँजा र अफिम खेती भइरहेको सूचनाको आधारमा प्रहरी सो क्षेत्रमा पुगेको थियो । शनिबार जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको १५ जनाको प्रहरी टोलीले गाँजा र अफिम खेती नष्ट गरेको हो ।