ट्रक चालकको कान काटेर दुई युवा भागेपछि …
मकवानपुर । मोरङमा अपरिचित युवाहरुले बुधबार राती ट्रक चालकको कान काटिदिएका छन् । जिल्लाको सुन्दरहरैँचा नगरपालिका वडा नम्वर १२ विराट चोकमा प्रदेश १–००१ ख ८१८९ नम्बरको ट्रकका चालक मोरङको उर्लाबारी नगरपालिका वडा नम्वर ७ का ५२ वर्षीय वोधविक्रम मुखियाको देव्रे कान काटिदिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मुखिया सिमेन्ट लोड गरिएको ट्रक लिएर मोरङको बूढीगंगाबाट रंगेलीतर्फ जाँदै गरेको अवस्थामा अपरिचित युवाहरु आएर उनको कान काटी फरार भएका थिए । विराट चोकमा पुगेपछि राती ११ः२५ बजेतिर ट्रक पार्किङ गरेर उनी खाना खान नजिकैको पोखरेल होटलमा छिरेका थिए । खाना खाइसकेपछि होटलअगाडि बालेको आगो तापिरहेका बेला अपरिचित युवाहरुले उनको कान काटेका हुन् ।
कान काटिएको ठाउँमा गहिरो चोट लागेकाले अत्याधिक रक्तश्राव भएकाले उनलाई विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । अस्पतालका अनुसार उनको अवस्था गम्भीर रहेको छ । उनको आइसियु कक्षमा राखेर उपचार भइरहेको छ । प्रहरीले घटनामा संलग्न ती अपरिचित युवाहरुको खोजी कार्य गरिरहेको जनाएको छ ।
