नेपाली श्रमिकको दोस्रो टोली माघ १५–१६ गते इजरायल जाने

तु खबर संवाददाता
२०७८ माघ ६, बिहीबार १०:१०
file-photo

काठमाडौं । दीर्घकालीन सहायक श्रमिकका रुपमा दोस्रो टोली १५ र १६ माघमा इजरायल जान जाने भएका छन् । श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका अनुसार छनौट भएका १ हजार १ सय ७५ मध्ये ६३ महिला र ३६ पुरुष गरी ९९ सय जना पहिलो चरणमा बुधवार इजरायल प्रस्थान गरिसकेका छन् ।

उनीहरु इजरायल सरकारबाट भिसा जारी भइसकेकाले ‘फस्ट कम फस्ट सर्भिस’ का आधारमा इजरायल प्रस्थान गरेका हुन् । वैदेशिक रोजगार विभागले गत कात्तिकमा ५ सय र मङ्सिरमा ६ सय ७५ श्रमिकको नामावली छनौट गरी रोजगार सम्झौताका लागि इजरायल पठाएको थियो । जसअनुसार छनोटमा परेका १ हजार १ सय ७५ मध्ये ८ सय २१ महिला तथा ३ सय ५४ पुरुषको अन्तिम नामावली प्रकाशित गरिएको थियो ।

नेपाल सरकार र इजरायल सरकारबीच २०७७ असोज १४ गते भएको श्रम सम्झौता अनुसार नेपाली श्रमिकलाई रोजगारका लागि इजरायल जाने बाटो खुलेको हो । इजरायल जाने प्रत्येक नेपाली श्रमिकले कम्तिमा २ लाख रुपैयाँ पारिश्रमिक रुपमा पाउने छन् ।