अनलाइन बन्द गराउने धम्कीपछि प्रहरीमा उजुरी
मकवानपुर । मकवानपुरबाट संचालित अखबारहव डटकम नामक अनलाइनका पत्रकार राममणि न्यौपानेले आफ्नो मिडियामार्फत् सम्प्रेषित समाचारजन्य सामग्री हटाउन दबाब आएको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका छन् ।
मालपोत कार्यालय मकवानपुरको समाचारको विषयलाई लिएर सोमबार बिहान ९ बजेको समयमा राजकुमार अर्याल नाम बताउने व्यक्तिले आफुलाई धम्की दिएको भन्दै उनले उजुरी दिएका हुन् । उनले नेपाल पत्रकार महासंघ मकवानपुर शाखा र महासंघ बागमती प्रदेश समितिलाई पनि यस विषयमा जानकारी गराएको बताए ।
‘मलाई, राजकुमार अर्याल नाम बनाउने व्यक्तिले आफु पत्रकारसमेत रहेको र मालपोत कार्यालय, मकवानपुरको प्रशासन, न्यायालय र प्रेससंग सम्बन्धित संस्थाहरु आफ्नै नियन्त्रणमा भएको भन्दै अखबारहबबाट सम्प्रेषित समाचारजन्य सामग्री हटाउन दबाब दिए । नहटाए अनलाइन नै बन्द गरिदिने धम्की आएको छ ।’ न्यौपानेले भने ।
यस्तो किसिमको धम्कीले पत्रकारहरुलाई समाचार संकलन, प्रकाशन तथा प्रशारणमा बाधा पुग्नुको साथै आम नागरिकको सूचना पाउने अधिकारलाई समेत कुण्ठित बनाउने अखबारहबका कार्यकारी सम्पाक रविन ढुंगानाले बताए । ‘यस्ता धम्कीले सिंगो पत्रकारितालाई नै आधात पुर्याउँदछ । त्यसकारण हामीले कानूनी कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका हौँ ।’ उनले भने ।