नेपाली टोली सहायता सामग्री लिएर अफगानिस्तान प्रस्थान

तु खबर संवाददाता
२०७८ माघ २,आईतवार ०९:०५
Photo: NAN

काठमाडौँ । नेपालले अफगानिस्तानलाई करिब १४ टन सहायता सामग्री उपलब्ध गराउने भएको जनाइएको छ । परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल नेतृत्वको टोली आज बिहान सहायता सामग्री सहित काबुल प्रस्थान गरेको हो । काबुल प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्रसंघले उपलब्ध गराएको सूची अनुसार औषधि, लत्ता कपडा, भाँडाकुँडा लगायत सामग्री नेपालले सहयोग गरेको जानकारी दिए । खाद्यान्नबाहेकका यी सामग्री करिब १४ टन रहेको जानकारी मन्त्री खड्काले दिए । सहायता सामग्री संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाई हस्तान्तरण गरेर नेपाली टोली आजै स्वदेश फर्किने गरी कार्यक्रम तय गरिएको छ ।

सरकारलाई कुनै दायित्व नपर्ने गरी सबै सामग्रीहरु व्यवसायीहरुले निःशुल्क रुपमा उपलब्ध गराएको जानकारी मन्त्री खड्काले दिए । ती सामग्रीहरु अफगानिस्तानसम्म पुर्याउन हिमालयन एयरलाइन्सले निःशुल्क चार्टर्ड उडान सहयोग गरेको पनि मन्त्री खड्काले बताए । यस कार्यमा संयुक्त राष्ट्र संघ, महावााणिज्य दूत, नेपालका उद्योगी, व्यवसायी, हिमालयन एयरलाइन्स, नेपाल आयल निगमलगायतको ठूलो सहयोग रहेको उनले उल्लेख गरे । अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि हाल विद्रोही संगठन तालिबानले त्यहाँ शासन सञ्चालन गरिरहेको छ । अफगानिस्तानमा तालिबानले शासन सञ्चालन गर्न थालेपछि ठूलो मानवीय संकट देखिएको समाचारहरु सार्वजनिक भएका छन् ।