वन संरक्षणमा हेटौंडाको रानी वन
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–६ स्थित रानी सामुदायिक वन उपभोक्ता समूह वनजङ्गल र वन्यजन्तुको संरक्षण, उपभोक्ता परिचालन, आर्थिक पारदर्शीता र वन व्यवस्थापनको कार्यमा उत्कृष्ठ भएकै कारण देशमै परिचित छ । वन समूहको नेतृत्व, पदाधिकारी र व्यवस्थापकीय जिम्मेवारी पाएका व्यक्तिहरुको अथक परिश्रम योगदानको कारण वनको चर्चा दिनप्रतिदिन चुलिँदै गएको हो ।
उपभोक्ता समूहले वन तस्करीको नियन्त्रण, सालकलगायत वन्यजन्तु तथा वनस्पतीको संरक्षण, चरिचरणको नियन्त्रण, वातावरणीय सौन्दर्यताको वृद्धि, जैविक विविधताको संरक्षणलगायत कार्यमा सक्रियता देखाउँदै आएको छ । आफ्ना उपभोक्तालाई सहज रुपमा काठ दाउरा, घाँसपात उपलब्ध गराउने, उनीहरुलाई वन संरक्षणबारे सचेत गराउने कार्य समूहले गर्दै आएको छ ।
त्यस्तै समूहमा आवद्ध सदस्यहरुका लागि बाख्रापालन, बंगुरपालन, तरकारी खेतीलगायत कृषि उत्पादनको क्षेत्रमा लगानी तथा सम्मान गर्ने, विभिन्न विद्यालयको लागि आवश्यक सहयोग तथा विद्यार्थीका लागि छात्रवृत्ति तथा विपन्न वर्गका लागि आयआर्जनका कामहरु गरेकै कारण उक्त वन धेरै मानिसहरुबीच परिचित भएको छ ।
२०४५ साल साउन ६ गतेबाट यो समूह गठन गरी वनजङ्गल र वन्यजन्तुको संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहले काम गर्दै आइरहेका थिए । २०५० साल पुस २२ गते जिल्ला वन कार्यालयले सो वन समूदायमा नै हस्तान्तरण गरेपछि झनै नमुना लायक कामहरु भएको छ । सो वन समूहमा ९०६ घरधुरीका करीव ५५ सय मानिसहरु आवद्ध छन् ।
लोपन्मुख वन्यजन्तुको संरक्षण
रानी सामुदायिक वन उपभोक्ता समूहको मिहेनतबाट नाङ्गा डाँडाहरु हरियाली हुन थाल्यो । लोपन्मुख तथा वनजङ्गल वन्यजन्तुको संरक्षणमा पनि समूह अब्बल घोषित भयो । समूहले विश्वमै लोपन्मुख अवस्थामा पुगेको सालकको संरक्षणको काम गरिरहेको छ । तराई भूपरिधि कार्यक्रम, राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन वन कार्यालय र दि रिफोर्ड फाउन्डेशन लगायतका सरकारी निकाय र सामाजिक सङ्घसंस्थाहरुले सालक संरक्षणमा रानी सामुदायिक वन समूहसँग सहकार्य गरिरहेका छन् ।
यिनै संस्थाको सहयोगमा राखिएको क्यामेरा ट्यापिङ सिस्टमका आधारमा सालकको संख्या र ती जनावरहरुको अवस्थाबारे समूहले निगरानी गर्दै आइरहेको समूहका अध्यक्ष विष्णु न्यौपानेले बताए । २०६२ सालबाट यो समूहले सालकको संरक्षणमा काम सुरु गरेको हो । शान्त ठाउँ मन पराउने र धमिरा तथा कमिला खाने सालक जोगाउन अहिले यो समूह लागि परेको छ । वन समूह क्षेत्रभित्र धमिराका देवलहरुको निर्माण र संरक्षणमा काम भइरहेको व्यवस्थापक भीमसेन पौडेलले बताए । सालक संरक्षणमा विभिन्न सामाजिक सघंसंस्था तथा सरकारी निकायसँग मिलेर समूहले काम गरिरहेको उनले बताए ।
वन क्षेत्रमा मयूर, कालिज, सुगा, लुइचे, वनकुखुरा, ढुकुर, जुरेली, ढेउवालगायत प्रजातिका चराचुरुङ्गी प्रसस्तै पाइन्छ । चरी बाघ, निगाले चितुवा, बादर, ढेडुँ, स्याल, वन विरालो र मृग पनि वन क्षेत्रमा पाइने जनावर हो । कुरिलो, झ्याउ, सर्पगन्धा, पारिजात, राजवृक्ष, चिराइतो, सुगन्धकोकिलाजस्ता जङ्गली जडिबुटीहरुको पनि यो समूहले संरक्षण गर्दै आइरहेको छ । साल, साज, चिलाउने, चाँप, बोटधाइरो, मसला, सिसौ, बकाइनो, भोर्ला, खमारी, चिउरी, अमृसो र चिराइतोलगायतका वनस्पती पनि यहाँ पाइन्छ । करीव १३४ हेक्टरमा फैलिएको यो वन समूहले आफ्नो वन क्षेत्रलाई ७ वटा ब्लकमा विभाजन गरी संरक्षणको काम गर्दै आइरहेको व्यवस्थापक पौडेलले जानकारी दिए ।

(सालक हस्तान्तर गर्नुहुँदै हेटौंडा–६ का वडा अध्यक्ष अर्जुन चौलागाई )
पटक–पटक पुरस्किृत
रानी सामूदायिक वन उपभोक्ता समूहले गणेशमान सिंह वन संरक्षण प्रथम पुरस्कार (२०५७) पाएपछि यसको चर्चा चुलिएको हो । त्यस्तै पछिल्लो पटक वन कार्यालयबाट सर्वोत्कृष्ठ वन संरक्षण पुरस्कार प्राप्त गरेको छ । आर्थिक वर्ष ०५२/०५३, ०५३/०५४, ०७४/०७५ र ०७५/०७६, ०७७/०७८ मा यो वनले पनि विभिन्न विधाका पुरस्कार प्राप्त गरेको छ ।
समूहले वन र वन्यजन्तुको संरक्षणमा योगदान पुर्याउने उपभोक्तालाई पनि सम्मान गर्ने गरेको छ । डंढेलो नियन्त्रणमा खटिने उपभोक्ता, उत्कृष्ठ कृषकलाई सम्मान गर्नुको साथै समूहले अहिलेसम्म ३ सयभन्दाबढी विद्यार्थी, पत्रकार, सङ्घसंस्था र सामाजका जेष्ठ सदस्यहरुलाई सम्मान गरिसकेको छ । केही पुरस्कारहरु पनि स्थापना गरी प्रत्येक बर्ष प्रदान गर्दै आएको छ ।
अब्बल व्यवस्थापन
वन समूहले वन व्यवस्थापन र संरक्षणमा मात्र होइन, समूहमा आवद्ध सदस्यहरुको सर्वोपरी हीतका लागि पनि अब्बल व्यवस्थापन गर्दै आइरहेको छ । जसका कारण वन समूह देशमै प्रतिष्ठित वन समूहको रुपमा स्थापित भएको हो । हरेक निर्णय गर्दा सो क्रममा उपभोक्तालाई सहभागी गराउने गरिएको छ । सदस्यहरुबीच कार्य विभाजन गरिएको छ भने विभिन्न उपसमितिहरुमार्फत् सदस्यहरुको हीतमा काम गरिएको छ । वार्षिक तथा पञ्च वर्षीय योजनाहरु बनाएर मात्र त्यसलाई कार्यान्वयनमा लैजाने गरिएको छ ।
यो समूहले सस्थागत सहकार्यलाई पनि उच्च प्राथमिकतामा राखेको छ । हालसम्म २७ वटाभन्दा बढी संघसंस्थाले समूहसँग आवश्यक सहकार्य गरी काम गरेका छन् । वन संरक्षणका अतिरिक्त यो समूहले पुलपुलेसा, बाटाघाटा, विद्यालय, विद्युत आपूर्ती र खानेपानीको व्यवस्थापनमा पनि समूहभित्र लगानी गरिरहेको छ ।
समूहको नेतृत्व पदाधिकारी र व्यवस्थापकीय जिम्मेवारी पाएका व्यक्तिको अथक प्रयासबाट यो संस्थाको अवस्था फेरिएको छ । अहिले समूहको आफ्नै जग्गाजमीन र भवन छ । २ तल्ले पक्की भवनमा रहेको यो समूहले क्रमशः संस्थालाई साधनस्रोत सम्पन्न संस्थाको रुपमा छवी निर्माण गरेको छ । भवन निर्माणका लागि तत्कालिन जिल्ला विकास समिति मकवानपुरले पनि आर्थिक सहायता उपलब्ध गराएको थियो । वन वृत्तचित्र ‘हाम्रो वन, हाम्रै संरक्षण’ निर्माण गरेको छ भने अन्य विषयका डकुमेन्ट्रीको निर्माण र वन सम्बन्धी सडक नाटकको प्रर्दशनी समेत गरिसकेको व्यवस्थापक पौडेलले बताए ।
तीन दशकदेखि व्यवस्थापक: संरक्षणमा संयोजनकारी
यस वन समूहको करीव ३ दशकदेखि भीमसेन पौडेल व्यवस्थापकको रुपमा काम गरिरहेका छन् । २०५१ सालबाट वन समूहको व्यवस्थापन भएका उनै पौडेल वन समूहलाई स्थापित गर्ने काममा संयोजनकारी भूमिका निर्वाह गरिरहेका छन् । स्व. जगन्नाथ र आमा कृष्णकुमारीका माइलो सन्तानको रुपमा २०२६ साल भदौ ६ गते जन्मिएका पौडेलले प्लस २ सम्मको अध्ययन गरेका छन् । उनले दत्तचित्त भएर रानी वनको संरक्षणमा काम गरिरहेका छन् । संस्थालाई अहिलेको अवस्थासम्म ल्याइपुर्याउन अत्यन्त महत्वपूर्ण भूमिका निभाएका पौडेलले वन समूहको स्थापनादेखि हालसम्मको सम्पूर्ण डकुमेन्टेशनलाई चुस्तदुरुस्त राखेका छन् ।
समूहले राष्ट्रिय स्तरमा कमाएको ख्याती, प्राप्त गरेको विभिन्न पुरस्कार, सालक संरक्षणमा भएका महत्वपूर्ण कामहरुमा पौडेल अग्रपक्तिमा छन् । वन समूहको क्षेत्रभित्र रहेका चराचुरुङ्गी, जनावर तथा जडिबुटीको बारेमा पौडेललाई सबै कन्ठस्त छ । सालकको संरक्षण कसरी गर्ने, कस्तो हावापानी र रहन सहनमा सालक खुसी हुन्छ आदि विषयका बारेमा पनि पौडेल जानकार छन् । पौडेल व्यवस्थापक भएका कारण पनि यसको प्रचारप्रसारमा उल्लेखनीय काम भएका छन् ।

वन क्षेत्रलाई डंढेलोबाट जोगाउन अग्निरेखा
वन समूहको समूहकै अगुवाइमा वन क्षेत्रलाई डंढेलोबाट जोगाउन अग्निरेखा निर्माण गरिएको छ । ठूलो क्षेत्रमा फैलिएको वनमा डंढेलो लागिहाले त्यसलाई नियन्त्रण गर्न सो अग्निरेखाले सहयोग पुर्याउने विश्वास लिइएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–६ र मकवानपुरगढी गाउँपालिका वडा नम्वर–३ जोड्ने सो अग्निरेखास्वरुप निर्माण गरिएको सडकका कारण मक्रान्चुलीका जनता पनि लाभान्वित भएका छन् ।
मक्रान्चुलीका वासिन्दालाई चौघडा बजारसम्म आवतजावत गर्न सो सडक छोटो मार्गको रुपमा प्रयोग गर्न सकिन्छ । रानी सामूदायिक वनको रु १ लाख र अन्य दाताहरुको सहयोग गरी कूल १० लाखमा सडक खोल्ने कार्य भएको थियो । अहिले स्थानीय र प्रदेश सरकारको लगानीमा सडक स्तरोन्नतीको कार्य भइरहेको छ । सो कार्यको अगुवाइ वन समूहका अध्यक्ष विष्णु न्यौपानेले गरेका थिए ।
वि.स २०१५ सालमा बुवा महानन्द न्यौपाने र आमा गंगादेवी न्यौपानेको सन्तानको रुपमा जन्मिएका न्यौपाने २०७० सालमा रानी सामुदायिक वनको अध्यक्ष भए । उनको कार्यकालमा स्वर्गीय विपी गणेशमान स्मृति शान्ति पार्कको शिलान्यास भई हाल निर्माणाधीन अवस्थामा छ । उनैको नेतृत्वमा जिल्ला वन कार्यालयबाट रु १० लाख अनुदान ल्याई घाइते सालकको उद्धारको लागि सालक क्रेज निर्माण गरिएको छ । उनै न्यौपाने पुनः २०७७ मा अध्यक्षको रुपमा चुनिए, अहिले चौघडा बजारमा धमिराको देवलमा सालक झल्किने मुर्ती निर्माण गरिएको छ । जंगलमा एउटा पोखरी बनाइएको छ । थप बनाउने तयारी समूहको छ ।
अग्निरेखास्वरुप बनाइएको सडकको छेउवा प्रतिक्षालय निर्माण गर्ने, सिमेन्टका कुर्सीहरु राख्ने, सडक छेउमा अमृसो र बाँसका विरुवा रोपेर भुक्षय नियन्त्रण गर्नुको साथै समूहको आम्दानी बढाउने योजना समूहले अघि सारेको छ । वन्यजन्तुलाई आहार उपलब्ध होस् भन्ने उदेश्यले जंगलको खाली भागमा विभिन्न प्रजातीका फलफूलका विरुवा रोप्ने समूहको तयारी छ ।
