चितवनमा भैँसी सम्मेलन हुने

तु खबर संवाददाता
२०७८ कार्तिक ६,शनिबार १५:५०

चितवन । चितवनमा भर्चुअल माध्ययमबाछ भैँसी सम्मेलन हुने भएको छ । भैँसीपालन, व्यवस्थापन, बजारीकरण, उपयोगितालगायतका बारेमा नवीनतम् वैज्ञानिक खोज, अनुसन्धान र प्रसार प्रविधिद्वारा भैँसीपालनको विकास र सबलीकरणमा योगदान पुर्याउने उद्देश्यका साथ उक्त सम्मेलन आयोजना गर्न लागिएको हो । अन्तर्राष्ट्रिय सम्मेलनको आयोजकमा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, एसियन बफेलो एसोसिएसन र इन्टरनेसनल बफेलो फेडेरेसन छन् । दसौँं एसियन बफेलो कंग्रेस आयोजक समितिका अध्यक्ष प्राडा भूमिनन्दन देवकोटाले सम्मेलन भर्चुअल विधिबाट हुने जानकारी दिए ।

चितवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत विश्वविद्यालयले उक्त जानकारी दिएको हो । अध्यक्ष देवकोटाका अनुसार भैँसी सम्मेलनमा १७ देशका विज्ञले सात विधामा १३५ भन्दा बढी कार्यपत्र प्रस्तुत गर्नेछन् । सम्मेलनमा तीन सय ५० भन्दा बढी वैज्ञानिकको सहभागिता रहनेछ । वैज्ञानिक, प्राध्यापक र विद्यार्थी सहभागी भएर पाँच दिनसम्म छलफल हुनेछ । भैँसीपालन, व्यवस्थापन, स्वास्थ, बजारीकरण एवम् उपयोगिताबारे भएका नवीनतम् खोज, अनुसन्धानबारे गहन छलफल हुने देवकोटाले जानकारी दिए ।

सन् २०१७ मा सौराहामा स्थानीय रुपमा भएको भैँसी सम्मेलन सन् २०१८ मा भारतमा भएको थियो । कृषि तथा वन विज्ञान विश्वविद्यालय र तत्कालीन कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले पशुविज्ञान, पशुचिकित्सा क्षेत्रका वैज्ञानिकले निरन्तर भैँसीको अनुसन्धानलाई केन्द्रमा राखेर पोषण, व्यवस्थापन, रोग निदान तथा उपचार एवम् बेमौसमी प्रजनन प्रविधिमा योगदान गर्दै आएको छ । बेमौसमी प्रजनन् प्रविधिबाट करिब ४७ प्रतिशत उत्पादन क्षमता भएको पाइएको छ । बेमौसमी प्रजनन कार्य किसानको गोठमा पुर्याउन विश्वविद्यालयले अध्ययन गरिरहेको छ । विश्वविद्यालयले भैँसी उत्पादनमा भएका नयाँ अनुसन्धानबारे पनि कार्यपत्र प्रस्तुत गर्ने देवकोटाले बताए ।

सम्मेलनको उद्घाटन कृषि तथा पशुपक्षी विकासमन्त्री महेन्द्र राय यादवले भर्चुअल माध्यमबाटै गर्ने कार्यक्रम छ । पत्रकार सम्मेलनमा विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीले नेपालमा ओझेलमा परेको पशुपालनलाई उचाइ दिन यो सम्मेलन सफल हुने बताए । अन्तर्राष्ट्रियस्तरका वैज्ञानिक सम्मेलनले पशुपालन विस्तारमा महत्वपूर्ण योगदान पुग्ने उनले विश्वास व्यक्त गरे । उनले भैँसीलाई कालो सुनका रुपमा लिइने भएकाले नयाँ प्रविधि र खोजअनुसन्धान प्रयोगमा ल्याउन सके अर्थतन्त्रमा सहयोग पुग्ने बताए ।