मुसीकोटमा विपन्न परिवारलाई बस्ती निर्माण गरी स्थानात्नरण गरिँदै

तु खबर संवाददाता
२०७८ कार्तिक १, सोमबार १६:३३

गुल्मी । मुसीकोट नगरपालिकाले विपन्न परिवारको लागि बस्ती निर्माण गरेपछि स्थानान्तरण प्रक्रिया अगाडि बढाएको छ । मुसिकोट नगरपालिका–५ आँपचौरका १२ घर विपन्न दलित परिवारको पहिलो चरणमा घर निर्माण र स्थानान्तरण थालिएको हो । यसका लागि नगरपालिकाले छैटौँ नगरसभाले जोखिमयुक्त बस्ती स्थानान्तरण तथा पुर्नस्थापना विद्येयक पारित गरेको थियो ।

बस्ती एकिकृत हुँदा पूर्वाधारको सुविधा, आय आर्जनमार्फत गरिबी निवारण, स्वास्थ्य, शिक्षाको पहुँचसँगै रोजगारीको समृत सृजना गर्न सकिने नगरपालिकाका मेयर सोमनाथ सापकोटाले जानकारी दिएका छन् । पहाडी जिल्लाहरूमा धेरै बस्ती छरिएर रहेकाले विकास पुर्वाधारका संरचनामा ठुलो बजेट खर्च हुने गरेको छ । जसका कारण आर्थिक सामाजिक विकासमा पछाडी पर्दै आएको छ ।

मुसीकोट नगरपालिका–५ आँपचौरको हात्तीगौडा भौगोलिक रुपमा अति विकट छ । यो ठाउँ चन्द्रकोट गाउँपालिका र मुसिकोट नगरपालिकाको बिचमा पर्छ । यहाँ १२ घर विपन्न दलित परिवार बसोबास गर्दै आएका छन् । उनीहरूको लागि हात्तीगौडा बास बस्ने स्थान मात्रै थियो । विद्यालय, स्वास्थ्य संस्था र यातायातको पहुँच थिएन । काम गर्न विहान गाउँ छोडेपछि साँझ मात्रै फर्किन्छन् ।

अहिले मुसीकोट नगरपालिका–५ आँपचौरको देउरालीमा घर निर्माण भइरहेको छ । दसैंसम्म १२ घर परिवारनै नयाँ घरमा बस्ने योजनामा थिए । तर लामो समयसम्म पानी परेकाले समयमै काम सम्पन्न भएन ।’ अहिले ६ घर निर्माण भइरहेका छन् । ती मध्ये दुई परिवारले पुरै काम सकेको मुसिकोट नगरपालिका–५ का वडाध्यक्ष भागिरथ खरेलले बताए । उनले स्थानीय तहको निर्वाचनमा बोलेका मध्येका बस्ती स्थानान्तरणको काम पनि पुरा गर्न सकेकोमा खुसी व्यक्त गरे ।