नवरात्रको अन्तिम दिन आज महानवमी, मठ मन्दिरमा भक्तजनको भीड

तु खबर संवाददाता
२०७८ आश्विन २८,बिहीबार ०७:४२

हेटौंडा । आज महानवमी पर्व, नवदूर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी नवमीमा दूर्गाको पूजालगायतका कार्य गरी घटस्थापनाको दिन राखिएको जमरा विभिन्न मठमन्दिरमा लगी चढाउने प्रचलन छ । आजको दिन नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणा दिने प्रचलनसमेत रहेको छ । मार्कण्डेय पुराणमा बताइए अनुसार, महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले यसको निकै महत्व रहेको छ ।

यसैबीच, हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिर पनि आजकै दिन खुल्ने गर्दछ ।तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने प्रचलन छ । हेटौंडामा रहेका विभिन्न शक्ति पिठहरुमा पनि भक्तजनको घुइचो लागेको छ । बिहानैदेखि भुटनदेवि, मनकामना, पाथिभरालगायतका मठमन्दिरमा भक्तजनहरुले पूजा आजा गरिरहेका छन् ।