सखिया नाचको रौनकता हराउँदै

तु खबर संवाददाता
२०७८ आश्विन ३०,शनिबार ०७:४६

मकवानपुर । प्रविधिको प्रयोगमा रुची बढेसंगै दशैंमा परम्परागत लिङ्गे पिङ्, दशैंमा थारु समुदायका महिलाले देखाउने सखिया नृत्यलगायतको रौनकता कञ्चनपुरमा हराउँदै गएको छ । कञ्चनपुरमा कृष्णजन्माष्टमीका दिनदेखि आरम्भ गरिने नृत्य दशैंसम्म देखाउनुपर्ने चलन थारु समुदायमा रहेपनि हाल यस नृत्यलाई छोटयाएर पाँचदेखि तीन दिन मात्रै देखाउन थालिएको हो । कोरोना महामारीका कारण सखिया नृत्यलाई छोट्याउनु परेको बताइएको छ    । सखिया नृत्य सामुहिकरुपमा देखाइने भएकाले निकै भीडभाड हुने भएकोले यस नृत्यलाई छोटो अवधिका लागि देखाउने व्यवस्था मिलाएको बताइन्छ ।

पहिला कम्तीमा एक महिनासम्म यस नृत्यको आयोजना गरिँदै आएकोमा खर्च बढी लाग्ने र बढी समय खेल्दा नाच्ने युवतीलाई पटयार लाग्ने भएपछि हाल सखिया नृत्य छोटो अवधिमा देखाइने अर्को कारणका रुपमा रहेको छ । सामुहिकरुपमा देखाइने सखिया नृत्य गाउँका घर घरमा गएर देखाउने चलन थारु समुदायमा रहेको छ । थारु गाँउका भलादमी, बडघर, गुरुवा, केसौका आदीको बैठक बसी सखिया नृत्यको आयोजना गर्नका लागि छलफल गरेपछि नृत्यको व्यवस्थापनको चाजोपाँजो मिलाउने गरिन्छ ।

गुरुवा (झाँक्री)ले तान्त्रीक विधिद्वारा नृत्यमा सहभागिता जनाउने युवा युवतीलाई दुष्टात्माको भवितव्यवाट बचाउनका लागि पूजा र अनुष्ठान गरेपछि यस नाचको प्रारम्भ गर्ने चलन रहेको छ । सखिया नृत्यमा भगवान कृष्णको जन्मलिलादेखि मृत्युसम्मको वर्णन गरिएको हुन्छ । नृत्यमा चार जना मादल बजाउने मदारीको व्यवस्था गरिएको हुन्छ । नृत्यको बीचबीचमा गीतलाई फरकफरक भाका हालेर गाउने गरिन्छ ।

मादल बजाउने कार्यको अगुवाई गर्ने व्यक्तिलाई अगुवा मदारी भन्ने गरिन्छ । अगुवा मदारीको तालमै ताल मिलाउदै मादल बजाउनेलाई पछुवा मदारी भन्ने गरिएको बुद्धिराम चौधरीले बताए । नृत्यमा गीत गाउने महिलाको अगुवाई गर्नेलाई ‘मोह्रिन्या’ भन्ने गरिन्छ । मोह्रिन्याको सिको गर्दै नाच्ने युवतीलाई जेठ गोहीया र पछगोहीया भन्ने गरिन्छ । नृत्यमा मादलको तालसँगै विभिन्न मुद्रामा युवतीले नृत्य गर्दछन । जसलाई थारु भाषामा खोट (पैंया) भन्ने गरिएको छ ।

पैंया २२ प्रकारको हुने गरेको भएपनि हाल मदारीले आफैँ सृजना गरेर पैंयाको तरिकामा परिर्वतन ल्याएकाले यो बढी पनि हुन सक्ने थारु अगुवाको भनाइ रहेको छ । यस नृत्यमा मादलको ताल र गीतसँगै नृत्य गर्ने युवतीले खुट्टाको पैतलासँगै शरीरलाई मोडेर विभिन्न मुद्रामा पेश गर्नुपर्ने हुन्छ । सप्तमीको दिनसम्म रातिको समयमा निश्चितस्थानमा गरिने यो नृत्य अष्टमीको रातभर आयोजना गरिन्छ ।

अष्टमीको रातभरि आयोजना गरिने नृत्यलाई भेडुवा जगैना भन्ने गरिएको उल्लेख गर्दै थारु संस्कृतिका जानकार धनबहादुर चौधरीले भने, ‘यस दिन थारु समुदायले कुभिण्डोको भेडा बनाइ बलि दिने परम्परागत चलनसमेत रहेको छ ।’ पञ्चमीको दिनअघि सादा पोशाकमा यस नृत्य हुनेभएपनि पञ्चमीका दिनदेखि मादल बजाउने मदारीले सेतो धोती र कमिज लगाउने गर्दछन् भने नृत्य गर्ने युवतीले रङ्गिविरङ्गी ऐना जडान गरेका लेहङ्गा, चोल्या, अङ्गिया, सेतो फरिया र गोन्या लगाउने गर्दछन् । हातमा मैजरी लिएर मादलको तालसँगै महिलाले बजाउनेसमेत गर्दछन् ।