आज विजया दशमीको तेस्रो दिनः सरकारी कार्यालय खुल्ने

तु खबर संवाददाता
२०७८ आश्विन ३१,आईतवार ०८:००

मकवानपुर । आज विजया दशमीको तेस्रो दिन पनि आफन्तजन वा मान्यजनबाट टिका, जमरा र आर्शिवाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीको दिन टीका लगाउन छुटेका वा टाढाटाढा भएकाहरुले कोजागत पूर्णिमासम्म टीका लगाउने परम्परा रहेको छ । पश्चिम नेपालका केही भागमा भने विजया दशमीको दिन मात्र टीका लगाउने प्रचलन छ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रुपमा दशै मनाइँदै आएको छ । घटस्थापनादेखि नौ दिनसम्म दुर्गाभवानीको पूजाआराधना गरेर राखिएको जमरासहितको टीका विजयादशमीदेखि पूर्णिमासम्म लगाउने प्रचलन रहेको छ । यसैबीच दशैंको अवधिमा बन्द रहेका सरकारी कार्यालयहरु आजबाट खुल्दै छन् । फुलपातीको दिनदेखि ५ दिनसम्म दशैं विदा मनाएकाहरु आजबाट नियमित काममा फर्किने छन् ।