प्रदेश २ को प्रदेशसभा बैठक बस्दै, मुख्यमन्त्रीले विश्वासको मत लिने

तु खबर संवाददाता
२०७८ आश्विन २०, बुधबार ०९:००

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक आज (बुधबार) बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको छ । आज बस्ने बैठकमा मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिने भएको छ । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) फुटेपछि संविधान अनुसार मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् ।

प्रदेश २ का कुल १०७ सांसदमध्ये माओवादी केन्द्रले तीन जनालाई बर्खास्त गरेपछि १०४ जना सांसद छन् । जसमा सत्तारुढ जसपाका ३९, नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका १३ र नेकपा माओवादी केन्द्रका ८ जना गरी ७९ जना सांसदले उनलाई विश्वासको मत दिने भएका छन् । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १६, नेकपा एमालेका ८ र नेपाल संघीय समाजवादी पार्टीका १ सांसद छन् । लोकतान्त्रिक समाजवादी पाटीले भने मुख्यमन्त्रीको राजीनामा माग्दै प्रदेश सभाको बैठक अवरुद्ध गर्ने बताएको छ ।