बागमती प्रदेश सभा : नीति तथा कार्यक्रम बहुमतले पारित
मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेश सभाको आज अपराह्न बसेको दोस्रो बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
सो नीति तथा कार्यक्रम प्रदेश सभाको गत जेष्ठ १४ गते बसेको बैठकमा प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रस्तुत गरेका थिए ।
उक्त नीति तथा कार्यक्रममाथि जेष्ठ १७ गतेदेखि १९ गतेसम्म लगातार तीन दिन छलफल भयो । छलफलमा सत्तापक्षर प्रतिपक्ष गरी ८१ जना प्रदेश सभाका सदस्यहरुले सरकारलाई मार्ग निर्देशनसहित सुझावहरु दिएका थिए ।
आज बसेको बैठकमा प्रदेश सभाका सदस्य मधुसुदन प्रसाद पौडल, एकालाल श्रेष्ठ, प्रकाश श्रेष्ठ, सुरेन्द्रराज गोरसार्इँ र सृजना सैजूले विभिन्न माग राख्दै नीति तथा कार्यक्रममाथि संशोधनको प्रस्ताव टेबुल गरेका थिए ।
उनीहरुले टेबुल गरेको संशोधनको प्रस्तावमाथि बैठकमा छलफल हुँदा बहुमतले अस्वीकृत भएपछि प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले सोही बैठकमा सरकारको आगामी आवको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे ।
बागमती प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको सभामुख पाठकले बताए ।
