प्रदेश प्रमुख शर्माद्वारा विधेयक पुर्नविचारको लागि प्रदेश सभामा फिर्ता
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले ‘प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पुर्नविचारको लागि प्रदेश सभामा फिर्ता पठाएका छन् ।
प्रदेश प्रमुख शर्माले बागमती प्रदेश सभाबाट सर्वसम्मत पारित भएको उक्त विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (३) बमोजिम आइतबार पुर्नविचारको लागि प्रदेश सभामा फिर्ता पठाएका हुन् ।
सो विधेयकमा प्राविधिक त्रुटी र अधिकांश शब्द संयोजनहरुसमेत नमिलेकाले पुर्नविचार हुन आवश्यक देखिएको भन्दै सन्देशसहित विधेयक प्रदेश सभामा फिर्ता पठाइएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले संसदमा पेश गरेको सो विधेयक बैशाख १२ गतेको प्रदेश सभा बैठकले सर्वसम्मत रुपमा पारित गरेको थियो । प्रदेश सभाबाट पारित विधेयक प्रमाणीकरणको लागि प्रदेश प्रमुखको कार्यालयमा पेश भएकोमा पुर्नविचारको लागि पुनः प्रदेश सभामै फिर्ता पठाइएको हो ।
बागमती प्रदेशमा प्रदेश प्रमुख कार्यालयबाट विधेयक फिर्ता भएको यो पहिलो घटना हो । यसअघि कुनै पनि विधेयक प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता भएको थिएन ।
