दसैँलगत्तै १८ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैँ लगत्तै १८ वर्षमुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन् । मन्त्री श्रेष्ठले आइतबार कान्ति बाल अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।
उनले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको १ करोड खोप आउने सुनिश्चितता भइसकेको बताए । यसका लागि ४० लाख मोर्डना र ६० लाख फाइजर खोप खरिदको व्यवस्था गरिसकिएको उनले बताए । दसैँलगत्तै १ लाख फाइजर खोप आउने उनले जानकारी दिए । फागुन महिनासम्ममा क्रमशः खोप आउने र बालबालिकालाई उपलब्ध गराइने उनले बताए । राज्यमन्त्री श्रेष्ठले सरकारले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकता दिएको उल्लेख गर्दै तिनै तहको अस्पतालको व्यवस्थापकीय पक्षलाई सुधार्न नीति बनाउने तयारी सरकारले गरेको बताए ।