आज विश्वकर्मा पूजा मनाइँदै
मकवानपुर । आज विश्वकर्मा पूजा । आजका दिन विभिन्न कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गरी मनाउँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिनमा विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो । यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ ।
नेपाल लगायत भारतमा विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ । यसैले विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ । यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्छन् । यो दिन धेरैजसो कलकारखाना बन्द रहन्छ र मानिसहरुले हर्षोल्लासको साथमा भगवान विश्वकर्माको पूजा गर्छन् । विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ । आज पूजा गरी शनिबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।
नेपाल सरकारले कोरोना संक्रमितको संख्या घटेपनि जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पूरा गरेर विश्वकर्मा पूरा आराधाना गर्न भनिएको छ । आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास रहेको छ । यस विश्वासमा आज इञ्जिन जडान भएका मोटरसाइकल, बस, अटो, ट्रकलगायतका सवारी साधनसमेत पूजा आराधना गरिन्छ ।
