नागरिक समाज र हेटौंडा अस्पतालका पदाधिकारीबीच छलफल

तु खबर संवाददाता
२०७८ भाद्र ३१, बिहीबार ०८:३६

मकवानपुर । नागरिक समाज मञ्च मकवानपुर र हेटौंडा अस्पताल पदाधिकारीबीच बुधबार छलफल भएको छ । अस्पतालको विषयमा नजिकबाट गरिएको निगरानीपश्चात देखिएको समस्याहरुको बारेमा छलफल भएको थियो ।

छलफलको क्रममा हेटौंडा अस्पतालमा एम्बुलेन्सको समस्याका साथै फोन नठाउने, टिक काउन्टरमा भिडभाड, अस्पतालका डाक्टरहरु निजी क्लिनीकमा भेटिने, बीमाका निःशुल्क पाउने औषधी पनि अस्पतालमा नपाइने जस्ता विषयमा उठेकोे थियो ।

साथै छलफलमा कोभिडको उपचारमा उत्कृष्टता हासिल गरेको अस्पतालले कर्मचारीबाट बिरामी तथा कुरुवामाथि हप्किदप्कि गरिनु, समयसिमासम्म डाक्टर अस्पतालमा नबस्ने समस्या उत्पन्न भएको नागरिक समाजले जनाएको छ । नागरिक समाजले अस्पतालभित्र बालबालिका लागि पनि छुट्टै सेवा सुविधा रहनुपर्ने बताउदैं बिरामीहरुलाई छिटो सेवा दिने व्यवस्थापन गरिनुपर्ने भनिएको थियो ।

सो क्रममा हेटौंडा अस्पतालका निमित्त मेसु रामचन्द्र सापकोटाले अन्य स्थानको अस्पतालले दिएको सेवाभन्दा बढी बिरामीलाई सेवा प्रदान गरेकोले धेरै भिडभाड भएको बताए । उनले भने, ‘नेपाल सरकारले जिल्ला अस्पतालमा ५० बेडको अधिकारी दिएका हुन्छ । हामीले त्यो भन्दा नि बढी बेडका बिरामीहरुलाई सेवा दिएका छौं । त्यसकारण अस्पतालमा धेरै भिडभाड हुन्छ ।’

मेसु सापकोटाले थपे, ‘सरकारले अस्पताल बेड जस्तै ओपिडी सेवा पनि तोकिएको हुन्छ तर, हामीले तोकिएको भन्दा पनि बढी सेवा दिएका छौं । क्वालिटि र रिसर्चमा रहेर काम गरिरहेका छौं ।’ जेनरल ओपिडी सेवा छुट्टै गर्न सकिए भीडभाड कम हुनका साथै अन्य सेवाहरु सहज रुपमा दिन सकिने उनको भनाई छ । स्रोत र साधनले भ्याएसम्म बिरामीहरुलाई उपचार सेवा उपलब्ध गराएको र आगामी दिनहरुमा पनि गर्ने हेटौंडा अस्पताल विकास समितिले जनाएको छ ।

छलफलमा समितिका सदस्य उत्सव चौलागाई, हिरालाल तामाङ, अस्पतालका निमित्त मेसु रामचन्द्र सापकोटा, नागरिक समाज मञ्च मकवानपुरका संयोजक रमिला सापकोटा, बाल कल्याण समाजका अध्यक्ष प्रकाश खतिवडा, तिर्थबहादुर थापा मगरलगायतको सहभागिता रहेको थियो ।