हेटौंडा अस्पतालमा विशेषज्ञ अभाव हुँदा मुटु परीक्षण उपकरण थन्कियो

तु खबर संवाददाता
२०८१ मंसिर १९,बुधबार १०:१९

हेटौंडा । हेटौंडा अस्पतालमा मुटुरोग विशेषज्ञ नहुँदा मुटु रोगीको परीक्षण उपकरण थन्किएको छ । मुटु रागीको जाँचका लागि ल्याइएको उपकरण विगत डेढ वर्षदेखि थन्किएको हो ।

मकवानपुर रोटरी क्लबले हेटौंडा उपमहानगरपालिकासँगको साझेदारीमा रु एक करोड मूल्य बराबरको मुटु परीक्षण उपकरण अस्पताललाई उपलब्ध गराएको थियो ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटाले उपकरण अस्पतालाई हस्तान्तरण भएपनि विशेषज्ञ नहुँदा उपकरण प्रयोगविहीन भएको जानकारी दिए ।

अस्पतालले मुटु रोग विशेषज्ञका लागि विज्ञापन खुलाएको भएपनि त्यसमा एक जनाले मात्र आवेदन दिएको र उनलाई प्रदेश कार्यविधिले नियुक्त दिन नमिलेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. सापकोटाले बताए ।

उपकरण प्रयोगविहीन हुँदा बिरामी अन्यत्र जानुपर्ने बाध्यता रहेको छ ।